चैतेधानले दोब्बर मूल्य पाएपछि किसान उत्साहित

मिति: २०२३-०६-२५ , समय : १४:२५:१४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

विराटनगर । गएकाे वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गएकाे वर्ष मनको पाँच सय ५० रुपैयाँदेखि छ सय रुपैयाँसम्म मूल्य पाएको चैतेधान यस वर्ष एक हजार एक सय रुपैयाँदेखि एक हजार दुई सय ५० रुपैयाँसम्ममा कारोबार भइरहेको छ।

चैतमा रोपेर असारमा काटिने चैतेधानलाई खेतमै पुगेर व्यापारीले राम्रो मूल्य दिन थालेपछि खुसी लागेकाे मोरङ बेलबारी–११ का भगिरथ घिमिरेले बताउनुभयो । ‘यसअघिका वर्षमा चैतेधानले किसानको उत्पादन गर्दा लाग्ने खर्च पनि उठाउँदैन थियो, तर यो वर्ष नसोचेको मूल्य पायौँ’, उहाँले भन्नुभयो।

चैतेधान लगाउने कृषकलाई कोशी प्रदेश सरकारले प्रोत्साहनस्वरुप प्रतिकठ्ठा पाँच सय रुपैयाँ दिने निर्णय गरेको छ । तर धेरै किसानले यो सुविधा थाहा नभएको जनाएका छन् । एक बिघा जमिनमा चैतेधान लगाउने गर्नुभएका बेलबारी–११ का दिपेन राईले प्रदेश सरकारको यो निर्णय थाहा नभएको त्यो सुविधा पाए किसानलाई राहत हुने बताउनुभयो।

मोरङमा एक लाख ११ हजार खेतीयोग्य जमिन रहेको यसमध्ये २१ हजार नौ सय हेक्टरमा मात्र चैतेधान लगाउने गरिएको र ८३ हजार तीन सय हेक्टरमा बर्खेधान लगाउने गरिएको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहले बताउनुभयो । उहाँले यसमा पाँच दशमलव पाँच मेट्रिक टन प्रतिहेक्टर धान उत्पादनको तथ्याङ्क रहेको बताउनुभयो ।

उचित मूल्यको कमीले चैतेधानप्रति कृषकको आकर्षण घट्दो रहेको थियो तर यस वर्षको मूल्यले कृषकमा चैतेधानप्रति आकर्षण बढाएको छ । हिउँदमा पनि निरन्तर सिँचाइको सुविधा हुने खेतमा चैतेधान लगाउने गरिन्छ ।

प्रकाशित मिति: २०२३-०६-२५ , समय : १४:२५:१४ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित