लगातारको बर्षापछि सप्तकोसी नदीमा पानीको उच्च बहाव , ब्यारेजका २४ वटा ढोका खोलियो…..

मिति: २०२३-०८-०८ , समय : १९:०२:२३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तकोसी नदीमा यस वर्षकै उच्च पानीको बहाव पुगेको छ। अविरल वर्षासँगै सप्तकोसी नदीले खतराको तह पार गरेकाे छ।

सोमबार रातिदेखि परेकाे पानीले मंगलबार साँझसम्म पानीकाे तह दुई लाख ६ सय ९० पुगेको छ। ‘अरू दिन सामान्य गतिमा रहेकोमा कोसीमा सोमबार (हिजो राति) देखि निरन्तर बहाव बढेकाे छ,’ कोसी ब्यारेजका प्रशासकले भने।

पानीको बहाव बढिरहेकाले कोसी ब्यारेजका ५६ मध्ये अहिले २४ वटा ढोका खुला राखिएको छ। कोसी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती बालिएको छ। कोसी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्नेबित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ।

सप्तकोसी अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी सन् १९६८ मा सात लाख ८८ हजार २०० क्युसेक पुगेको थियो। सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्युसेक पुगेको थियो।

कोसी ब्यारेजले सुरुवातका वर्षमा कोसी नदीले झन्डै आठ लाख क्युसेक पानीको क्षमता धाने पनि त्यसपछिका वर्षहरूमा पानीको लेभल घटदै गएको पाइन्छ। पछिल्लो समय कोसी ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिएका कारण थोरै पानीको बहावमा पनि खतरा हुनेगर्छ।

२०६५ भदौ–२ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यति वेला कोसीले पूर्वी तटबन्ध भत्काउँदा कोसी गाउँपालिकाका चारवटा मानव बस्तीमा पसेको थियो। उक्तः बाढीले ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए।

प्रकाशित मिति: २०२३-०८-०८ , समय : १९:०२:२३ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित