सप्तरीको बोदेबर्साइनका मेयरसहित ८ जनाविरुद्ध मुद्दा, कृषि आधुनिकीकरण परियोजनामा १४ लाख भ्रष्टाचार भएको खुलासा

मिति: २०२३-०८-३० , समय : १८:४७:४७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको बोदेबसाइन नगरपालिकाका मेयरसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरी भुक्तानी गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सप्तरीको बोदेबर्साइन नगरपालिकाले बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि वडा नं ६ फुलकाहीको माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरेको थियो ।
तर नक्कली बिल भर्पाई र झुटा बिल बनाएर १४ लाख ७१ हजार ९२१ रुपैयाँ नगरपालिकाले भुक्तानी गरेको अख्तियारको दाबी छ ।
मेयर अातेश कुमार सिह यादव र वडा नं ४ का तत्कालिन वडाध्यक्ष रामानन्द चौधरी र तत्कालिन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतले स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो भनी गलत प्रतिवेदन दिएको र सोही प्रतिवेदनका आधारमा कृषक समूहलाई भुक्तानी दिएको अख्तियारले जनाएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव र लेखापाल सरोजकुमार मण्डलले नक्कली बिल भरपाइकै आधारमा भुक्तानीको टिप्पणी आदेश स्वीकृत गरेर कृषक समूहलाई भुक्तानी दिएको देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।
यता अख्तियारले नगरपालिकाका पशुविकास अधिकृत अर्जुनप्रसाद यादव, माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्यामकुमार साह र कोषाध्यक्ष निलमकुमारी शर्माविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति: २०२३-०८-३० , समय : १८:४७:४७ , 2 years अगाडि