सप्तरीमा बालिका बलात्कारको अभियोगमा आठ वर्ष कैद
मिति: २०२३-१०-०४ , समय : १५:४१:१९ , गामघर डेस्क
मिति: २०२३-१०-०४ , समय : १५:४१:१९ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीमा बालिका बलात्कार गरेको अभियोगमा ३५ वर्षीय एक पुरुषलाई आठ वर्ष कैद सजाय भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ७ का दर्शन भनिने दशन मण्डललाई जिल्ला अदालत सप्तरीले आठ वर्ष कैद सजाय सुनाएको हो ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले उनलाई कसुरदार ठहर गर्दै आठ वर्ष कैद र १ लाख रूपियाँ क्षतिपूर्ति भर्नुपर्ने फैसला भएको इजलास अधिकृत कुमार सुवेदीले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय कल्याणपुरले उनीविरुद्ध २०७५ पुस २६ गते उजुरी दर्ता गरेको थियो । उनी भारततर्फ फरार भएका कारण गिरफ्तार गर्न नसकेपछि अदालतले २०७६ असार ३० गते मुद्दा मुल्तबी राख्ने फैसला गरेको थियो ।
उक्त घटनाको साढे चार वर्षपछि आरोपित २०७९ चैत १ गते अदालतमा हाजिर हुन आएपछि पुर्पक्षका लागि थुनामा पठाइएको थियो । जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
आरोपितले २०७५ साउन ५ गतेदेखि पटक–पटक बलात्कार गरेको भन्दै पीडितले अभिभावकलाई २०७५ पुस १६ गते बताएकी थिइन् । बालिकाको पेट ठूलो हुँदै गएपछि चिकित्सक कहाँ चेकजाँच गर्दा गर्भवती भएको थाहा पाएपछि सोधपुछ गर्दा मात्र घटनाबारे जानकारी पाएको पीडितका अभिभावकले बताएका छन् ।
बाख्रा चराउन जाने गरेकी बालिकालाई ललाईफकाई आरोपितले पटक–पटक बलात्कार गरेको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय कडरबोनामा २०७५ पुस २६ गते उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा २०७५ पुस २६ गते भएको थियो । अस्पतालका चिकित्सकका अनुसार २०७५ पुस २७ गते भिडिओ एक्सरे गराउँदा पीडित बालिका २८ हप्ता तीन दिनकी गर्भवती थिइन् ।
प्रकाशित मिति: २०२३-१०-०४ , समय : १५:४१:१९ , 2 years अगाडि