मधेस प्रदेश : उखु किसानले एक वर्षपछि पाए सरकारी अनुदान बापतको रकम
मिति: २०२४-०१-०४ , समय : १६:४५:०६ , गामघर डेस्क
मिति: २०२४-०१-०४ , समय : १६:४५:०६ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर । मधेस प्रदेशको सर्लाहीका उखु उत्पादक किसानले एक वर्षपछि अनुदानबापतको रकम प्राप्त गरेका छन् । जिल्लाका उखु उत्पादक किसानको खातामा अनुदानबापतको रकम प्राप्त भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो ।
सर्लाहीका उखु उत्पादक किसानले पटक–पटक आन्दोलन गरेपछि सरकारले अनुदानबापतको २९ करोड २५ लाख ५२ हजार सात सय ४९ रुपैयाँ खातामा पठाएको मिलगेट उखु उत्पादक किसान समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीको भनाइ छ । उहाँका अनुसार गएकाे वर्ष उखुको मूल्य प्रतिक्विन्टल अनुदानसहित छ सय १० रुपैयाँ निर्धारण गरिएको थियो । जसमा पाँच सय ४० रुपैयाँ चिनी मिल र ७० रुपैयाँ सरकार उपलब्ध गराउने निर्णय भएको थियो ।
उखु किसानको खातामा रकम पठाइएकोले आफ्नो खातामा रकम आए/नआएको पक्का गर्न कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख एवम् कोष नियन्त्रक निर्मल न्यौपानेले आग्रह गर्नुभएकाे छ ।
सरकारले यस वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल छ सय ३५ रुपैयाँ तोकेकोमा उद्योगीले प्रतिक्विन्टल पाँच सय ६५ र सरकारले ७० रुपैयाँ अनुदान दिनेछ । यस्तै मधेस प्रदेश सरकारले प्रतिक्विन्टल १० रुपैयाँ अनुदान दिने घोषणा गरिसकेको छ ।
प्रकाशित मिति: २०२४-०१-०४ , समय : १६:४५:०६ , 1 year अगाडि