मधेस प्रदेश : अझै उठेन प्रहरीको गोली लागेर ढलेका जयशंकरको शव, जयशंकरलाई गोली दाग्ने हवल्दार जिल्ला तानिए
मिति: २०२४-०१-०७ , समय : ११:२९:३१ , गामघर डेस्क
मिति: २०२४-०१-०७ , समय : ११:२९:३१ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको सर्लाही स्थित बरहथवामा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मारिएका युवक जयशंकर साहको शव दुईदिनदेखि अझै उठ्न सकेको छैन । आफ्नो मागप्रति प्रशासनले सहमति नजनाउँदा मृतक परिवार तथा आन्दोलनकारीले जयशंकरको शव उठ्न नदिएका हुन् ।
शव व्यवस्थापन र प्रदर्शन रोक्ने विषयमा शनिबार साँझ अबेरसम्म इलाका प्रहरी कार्यालय बरहथवामा चलेको छलफल बिना निष्कर्श सकिएको थियो ।
आज बिहान ८ बजेको लागि पुनः आन्दोलनरत्त पक्ष, मृतक परिवारसहित छलफलको लागि इलाका प्रशासन कार्यालय बरहथवामा बैठक डाकिएको छ । हिजोको छलफलबाट केही विषयमा सहमति भएको सर्लाहीका प्रहरी प्रमुख प्रविण धितालले बताए । अहिले चल्ने छलफलबाट निष्कर्ष निस्कन सक्ने उनको विश्वास छ ।
मृतक परिवार तथा आन्दोलनकारीले मृतकलाई शहीद घोषणा, मृतकको नामबाट प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको नामकरण हुनुपर्ने, बरहथवाका मेयरले राजिनामा दिनुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा स्तरोन्नति गरी ५० बेडको बनाउन मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्नेसहित माग राखेका छन् ।
शनिबार नै गृहमन्त्रालयले घटनाको छानविनको लागि मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको छ । साथै मृतक परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय समेत गरेको छ ।
बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवा जयशंकरको मृत्यु भएको थियो ।
यता सर्लाहीको बरहथवाम जयशंकर साहलाई गोली चलाएर मारेको आरोप लागेका प्रहरी बरिस्ठ हवल्दार जिल्ला तानिएका छन् । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत्त प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादवलाई जिल्ला प्रहरी कार्यालय तानिएको हो ।
हवल्दार यादवले नै गोली चलाएको आरोप लगाएपछि उनलाई जिल्ला तानेर घटनाको छानविन गरिरहेको सर्लाहीका प्रहरी प्रमुख प्रविण धितालले जानकारी दिए ।
गत शुक्रबार बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय सर्लाही होटेलका सञ्चालक तथा कुखुरा दानाका थोक बिक्रेता जयशंकर साहको घटनास्थलमै मृत्यु भएको थियो । उनी विद्युत् कार्यालयमा महसुस बुझाउन जाँदै थिए ।
प्रहरीले पनि जयशंकर निर्दोष रहेको स्वीकार गरसकेेको छ ।
आन्दोलनकारीले हतियार थुन्ने बेला बरिष्ठ हवल्दार यादवको बन्दुक पड्केर गोली चलेको हुन सक्ने प्रहरीको दावी छ ।
यता मृतक परिवार र आन्दोलनरत्त पक्षले भने बरिष्ठ हवल्दार यादवले रिसीबी साध्न निर्दोष जयशंकरलाई जानेर गोली दागेर मारेको दावी गरेको छ ।
प्रकाशित मिति: २०२४-०१-०७ , समय : ११:२९:३१ , 2 years अगाडि