सप्तरीमा १३ बर्षकी बालिकाको उमेर बढाएर बनाउने वडासचिव कारागार चलान

मिति: २०२४-०१-०७ , समय : २१:४५:४६ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज । कम उमेरकी बालिकाको बढी उमेर देखाएर जन्म दर्ता बनाइदिने सप्तरीका एक जना सचिव र कार्यालय सहयोगी पुर्पक्षका लागि थुनामा गएका छन् ।

किर्ते गरी बालिकाको उमेर बढाएर जन्म दर्ता बनाइदिने सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिकाका वडा नम्बर ४ का सचिव रमेश घिमिरे र कार्यालय सहयोगी देबकान्त चौधरीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो ।

कागजात किर्ते मुद्दामा दुबैलाई आईतबार जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

वडा सचिव घिमिरेसहितका आठ जना मिलेर कम उमेरकी आफ्नी छोरीको बढी उमेर देखाएर जन्मदर्ता बनाएको भन्दै अग्निसाइर कृष्णासवरण गाउँपालिकाका वडा नम्बर ४ का ललित इसरले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीको आधारमा प्रहरीले किर्ते मुद्दा चलाएको थियो ।

ललितले सचिव घिमिरे, कार्यालय सहयोगी चौधरी, कम्प्युटर अपरेटर सुनिता चौधरी, किर्ते जन्म दर्ता बनाउन आउने बिष्णुपुर गाउँपालिका वडा नम्बर ६ का नारायण राम, शिबु राम, जितु राम, मनोज राम र अशोक रामबिरुद्ध जाहेरी दिएका थिए ।

यता जाहेरीको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । अन्य व्यक्ति फरार रहेको र उनीहरुको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता एवं डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२४-०१-०७ , समय : २१:४५:४६ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित