आनन्दी सदाय प्रकरण : असुरक्षित महसुस गर्दै संलग्नमाथि जाहेरी दिन तयार भएनन् पीडित परिवार

मिति: २०२५-०४-१८ , समय : २१:११:१० , विनय आजाद

तस्बिर : सामाजिक सन्जालबाट

विनय आजाद

सिरहा । यौन दुर्व्यवहार घटनामा चार महिना भौँतारिए पनि न्याय नपाएपछि आफ्नै घरमा मृत भेटिएकी मधेस प्रदेशको सिरहाको नवराजपुर गाउँपालिका-३ स्थित दोनवारी टोलकी २४ वर्षीया आनन्दी सदायको परिवार कानुनी प्रक्रियामा जान तयार हुन सकेका छैनन् ।
पीडित परिवार असुरक्षित महसुस गर्दै घटनाका पीडक र घटना गाउँमै मिलाउन खोज्ने पीडकका आफन्त तथा प्रहरीविरुद्ध जाहेरी दिन तयार हुन नसकेका हुन् ।
यौन दुर्व्यवहारका आरोपित २२ वर्षीय सञ्जीवकुमार यादव, ३२ वर्षीय श्यामसुन्दर यादव र घटना गाउँमै मिलाउन खोज्ने सञ्जीवका बुवा उपेन्द्र यादव, श्यामसुन्दरका बुवा शिवदत्त यादव, स्थानीय नरेन्द्र यादव तथा इलाका प्रहरी कार्यालय, महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक रविनराज मैनाली र मुद्दा फाँटका प्रहरीविरुद्ध जाहेरी दिने विषयमा बिहीबार पीडित, दलितका अगुवा र कानुन व्यवसायीबीच छलफल भएको थियो ।
तर, सो क्रममा पीडित निकै डराएको पाइएको र उनीहरू कानुनी कारबाही प्रक्रियामा अगाडि बढ्न सकारात्मक नदेखिएको नेपाल राष्ट्रिय मुसहर संघका प्रवक्ता सुनिल सदाले बताउनुभयाे । ‘यो घटना अब यौन दुर्व्यवहारमा मात्रै सीमित छैन, कारबाही गर्नुभन्दा घटना मिलाउन प्रयास भएको छ, जसले पीडितलाई मृत्युवरण गर्न वाध्य बनाएको देखिन्छ,’ उहाँले भन्नुभयाे, ‘यो घटनापछि पीडित परिवार झन् निरास छन्, डराएका छन् ।’
आनन्दीको मृत्यु घटनापछि पीडित परिवारलाई डरत्रास देखाउने, धम्की आउने क्रम झन् बढेको उहाँको भनाइ छ । ‘यो घटनामा यदि राम्ररी अनुसन्धान हुने हो भने प्रहरीका ठूला अधिकारीदेखि जिल्लाका नेता र केही स्थानीय पनि कारबाहीमा पर्छन्,’ उहाँले भन्नुभयाे, ‘त्यसैले विभिन्न ढंगले पीडितलाई मानसिक तनाव दिन खोजिएको छ, रोक्न खोजिँदैछ ।’
यस्तो घटना भए पनि राज्यका निकाय र दलितका लागि काम गर्ने अन्य सरकारी तथा गैरसरकारी संघसंस्था अझै यसमा गम्भीर नदेखिँदा घटनाको तीन दिन हुँदासमेत अहिलेसम्म केही प्रगति हुन नसकेको गुनासो उहाँको छ । ‘राज्यको न्याय प्रणालीलाई नै यो घटनाले गिज्याएको छ, यस्तो बेला सबै सक्रिय हुनपर्ने हो,’ उहाँले भन्नुभयाे, ‘हाम्रो एकल प्रयासले मात्र यो सम्भव हुने देखिएन ।’
आनन्दी गत मंगलबार दिउँसो ३ बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यसअघि पुस ९ गते उनीमाथि गाउँकै आँप बगैंचामा सामूहिक बलात्कारको प्रयास भएको थियो । तर, सोही दिन इलाका प्रहरी कार्यालय, महेशपुर पतारमा जाहेरी दिइएपनि आरोपित पक्ष र प्रहरीले पीडितलाई गाउँमै मिल्न दबाब दिएको थियो ।
प्रहरीले सुनुवाई नगर्दा पीडित परिवार मिडियामा जाने तयारी गरेपछि अढाई महिनापछि फागुन २५ गते बल्ल उनकी जाहेरी दर्ता भएको थियो । तर, मुद्दा दर्ता भए पनि आरोपितलाई पक्राउ गर्न प्रहरीले आनाकानी गर्दै आएको थियो । उनीहरू अझै पनि पक्राउ परेका छैनन्।

प्रकाशित मिति: २०२५-०४-१८ , समय : २१:११:१० , 1 week अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित