घाइते बालकको उपचार खर्च माग गर्दै सप्तरीको राजविराज नगरपालिकामा धर्ना
मिति: २०२५-०६-०१ , समय : २०:२७:२३ , गामघर डेस्क
मिति: २०२५-०६-०१ , समय : २०:२७:२३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको राजविराज नगरपालिकाको स १ झ ४८१ नम्बरको स्कारपिओले ठक्कर दिएर गम्भीर घाईते बालकको उपचार खर्च नबुझाउदा पाँच महिनादेखि अस्पतालमा बन्धक भएका छन् । नगरपालिकाले उपचार खर्च नबुझाउदा जिल्लाको बोदेबर्साइन नगरपालिका वडा न.१ का १६ बर्षिय राजेश कुमार यादव अस्पतालमा बन्धक भएका हुन् ।
सप्तरीको राजविराज नगरपालिकामा गत मंगलबारदेखि पीडितका आफन्तले अनिश्चितकालीन धर्ना कार्यक्रमलाई आइतबार पनि निरन्तरता दिएका छन् । खर्च माग गर्दै पीडित परिवार तथा आफन्तहरु राजविराज नगरपालिकाको मुल गेटमा धर्ना बस्दा दैनिक कामकाज प्रभावित भएको छ ।
घटनाको महिनौं वितिसक्दा समेत नगरपालिकाले उपचार खर्च उपलब्ध नगराउँदा छोरा अस्पतालमै बन्धक भएको पीडितका बुवा रघुनाथ यादवले सञ्चारकर्मीलाई जानकारी दिनु भयो । उपचार खर्च अस्पताललाई बुझाउन नसक्दा छोरालाई घर ल्याउन नसकेको उहाँको गुनासो छ ।
यादवले उन्नाइस दिन अगाडि नै २५ लाख रुपैयाँ अस्पताललाई तिरेर ल्याउन सक्ने अवस्था नभएकोले छोरा अस्पतालमै बन्धक छन् ।उहाँले नगरपालिकामा उपचार खर्चका लागि महिनौंसम्म धाउँदा समेत सुनुवाइ नभएपछि धर्ना बस्न बाध्य भएको बताउनु भयो । उहाँले उपचार खर्च बुझाएर छोरालाई घर ल्याउन पहल गरिदिन संचारकर्मी तथा सरोकारवाला निकायहरुसंग आग्रह समेत गर्नु भयो ।
कुल २७ लाख खर्च भएकोमा नगरपालिकाले २ लाख मात्र अस्पताललाई बुझाएको बताउंनुहुदै उहाँले छोरालाई घर नफर्काइए राजविराज नगरपालिकाकी कार्यबाहक मेयर इसरत परविनको घरमा गएर झुन्डिएर आत्माहत्या गर्ने चेतावनी समेत दिनु भयो ।
गत २०८१ माघ १ गते बोदेबर्साइन नगरपालिका ५ स्थित सडक खण्डमा राजविराज नगरपालिकाको गाडिको ठक्करबाट बोदेबर्साईन नगरपालिका वडा न.१ का राजेशसंगै अर्का २२ बर्षिय अजित कुमार यादव घाइते भएको रजेशका बडाबुवा बैधनाथ यादवले बताउनु भयो ।
अजितको राजविराज स्थित छिन्नमस्त अस्पतालमा उपचार गरि घर फर्किएपनि विराट नर्सिङ होम विराटनगरमा उपचार खर्च तिर्न नसकेपछि राजेशलाई घर ल्याउन नसकिएको उहाँले जानकारी दिनु भयो ।उहाँले नब्बे दिन आइस्युमा राखी उपचार गराइएको भतिजाको ९२ दिनपछि होस आएर हाल अस्पतालले डिस्चार्ज गरिसक्दा समेत पैसा अभावले ल्याउन नसकिएको बताउनु भयो । उहाँले अस्पताललाई उपचार खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक भएका भतिजाको न्यायका लागि संघर्ष समिति बनाएर क्षतिपूर्तिको लागि दबाब दिन धर्ना बस्न बाध्य भएको बताउनु भयो ।
प्रकाशित मिति: २०२५-०६-०१ , समय : २०:२७:२३ , 2 weeks अगाडि