ठूला कलेजलाई संरक्षण, सानालाई बेवास्ता : निजी विद्यालयहरूद्वारा आपत्ति
मिति: २०२५-०६-०८ , समय : २२:१९:१५ , रबि शर्मा
मिति: २०२५-०६-०८ , समय : २२:१९:१५ , रबि शर्मा
रबि शर्मा
राजविराज । सप्तरी जिल्लाका निजी विद्यालय सञ्चालकहरूले शिक्षा क्षेत्रमा फैलिएको गम्भीर विभेद, बेवास्ता र अनियमितताका विरुद्ध कडा प्रतिक्रिया जनाउँदै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले शिक्षामा समान व्यवहार, निष्पक्ष अनुमति प्रक्रिया र कडा नियमनको माग गरेका छन्।
ज्ञापनपत्रमा भनिएको छ “शिक्षा राष्ट्र निर्माणको मेरुदण्ड हो, त्यसैले यसमा पूर्वाग्रह र स्वार्थका लागि गरिएको हस्तक्षेप सह्य हुने छैन।” निजी विद्यालय सञ्चालकहरूले केही व्यक्तिको आभाषीय प्रभाव र प्रशासनिक लापरवाहीको आडमा साना विद्यालयहरूलाई नियोजित रूपमा बन्द गराउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।
उनीहरूले ठूला विद्यालय तथा कलेजहरूलाई संरक्षण दिइँदै साना ग्रामीण शिक्षालयहरूलाई बेवास्ता गर्दै अनुमति नदिने कार्यप्रति कडा आपत्ति जनाएका छन्। बारम्बार निवेदन दिँदा पनि जवाफ नपाएको र विद्यालय सञ्चालनमा अन्यौलता सिर्जना भएको गुनासो गरिएको छ।
ज्ञापनपत्रमा राजविराजका मिशन कलेज, युनिभर्सल कलेज, क्षितिज कलेजजस्ता संस्थाहरू कुन निकायको अनुमति लिएर सञ्चालनमा छन् भन्ने खुलासा गर्न माग गरिएको छ। ती संस्थाको गतिविधिमा पारदर्शिता नहुँदा नियमन कमजोर भएको आरोप लगाउँदै अब यस्ता संस्थामा कडा अनुगमन गर्न स्थानीय प्रशासनलाई चेतावनी दिइएको छ।
त्यस्तै सामुदायिक विद्यालयहरूमा शुल्क उठाउने, संस्थागत विद्यार्थीलाई नियमविपरीत भर्ना गरी परीक्षा दिन दिने कार्य पनि उजागर गरिएको छ। यस्तो बेथिति तत्काल रोक्न र सम्बन्धित निकायहरूलाई जवाफदेही बनाउन माग गरिएको छ।
यता विद्यालय सञ्चालकहरूले शिक्षा प्रणालीमा निष्पक्षता, पारदर्शिता र कडा नियमनको माग गर्दै ग्रामीण शिक्षाको संरक्षणका लागि अब सरकार गम्भीर भएर अघि बढ्नुपर्ने चेतावनी दिएका छन्।
प्रकाशित मिति: २०२५-०६-०८ , समय : २२:१९:१५ , 1 week अगाडि