विद्यालयको प्रार्थना सडकमा : विद्यार्थीको ज्यानमाथि खेलवाड !
मिति: २०२५-०६-०९ , समय : १९:१३:२५ , रबि शर्मा
मिति: २०२५-०६-०९ , समय : १९:१३:२५ , रबि शर्मा
रबि शर्मा
राजविराज ।
सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका सकरपुरा वडा न. ३ स्थित उग्रकान्त माध्यमिक विद्यालयका विद्यार्थीहरू विद्यालयको प्रांगण नपाएर जोखिमपूर्ण अवस्थामा सडकमै प्रार्थना गर्न बाध्य भएका छन्। दैनिक सयौं विद्यार्थीहरू व्यस्त सडक छेउमा जमघट भई बिहानको प्रार्थना गर्दै आइरहेका छन्, जुन कुनै पनि बेला ज्यानमाथिको ठुलो दुर्घटनाको कारण बन्न सक्ने देखिन्छ।
विद्यालय व्यवस्थापनको यस्तो लापरवाहीले विद्यार्थीहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। विद्यालयको आफ्नै सुरक्षित प्रांगण निर्माण गर्न नसक्दा सडक किनारमै विद्यार्थीलाई राखेर प्रार्थना गराउने परिपाटी बनाइएको छ। सवारी साधन आवतजावत हुने यो सडक विद्यार्थीहरूका लागि ज्यानमारा फन्दाजस्तै देखिन थालेको छ।
अझ हैरान हुने कुरा के छ भने, सो विद्यालयका संस्थापक तथा जिल्ला निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) सप्तरीका अध्यक्ष स्वयं उग्रकान्त झा हुन्। शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका झाजस्तो व्यक्तित्वकै विद्यालयमा यस्तो खतरापूर्ण अभ्यास हुनु आफैँमा विरोधाभासपूर्ण र दुःखद् दृश्य हो।
स्थानीय बासिन्दा र अभिभावकहरू विद्यालय प्रशासनको गैरजिम्मेवारीपनले कुनै दिन ठूलो दुर्घटना निम्त्याउन सक्ने भन्दै चिन्तित देखिएका छन्। उनीहरू भन्छन्, “विद्यालयले आफ्ना विद्यार्थीहरूलाई सडकमा उभ्याएर तिनको जीवनमाथि खेलवाड गरिरहेको छ। यस्तो अवस्था रहे कुनै दिन गम्भीर दुर्घटना भए जिम्मेवार को हुने?”
शिक्षा मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार र प्याब्सन केन्द्रीय समिति यस विषयमा अहिलेसम्म मौन रहेको देखिन्छ। तर यस्तो संवेदनशील विषयमा बेवास्ता गरिएमा अप्रिय घटना घट्न समय लाग्नेछैन।
यसरी विद्यालय प्रशासनको लापरवाही र सम्बन्धित निकायको उदासीनताले विद्यार्थीहरूको ज्यान र भविष्य दुवैसँग खेलवाड भइरहेको छ। तत्काल उचित प्राङ्गण व्यवस्थापन र वैकल्पिक सुरक्षित स्थानको खोजी गरिनुपर्ने स्थानीयको माग छ। यता साे बिषयमा स्कुलका सन्चालक उग्रकान्त झासग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
यदि यथाशीघ्र समस्या समाधान भएन भने विद्यालय प्रशासन र सरोकारवाला सबै निकाय भविष्यमा हुने सम्भावित दुर्घटनाका प्रत्यक्ष जिम्मेवार ठहर्नेछन।
प्रकाशित मिति: २०२५-०६-०९ , समय : १९:१३:२५ , 1 week अगाडि