विज्ञापन प्रकाशन नगरिकन बिल भुक्तानी : सम्पादकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मिति: २०२५-०६-१० , समय : ०७:२९:०५ , गामघर डेस्क

तस्बिर : फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । मधेस प्रदेशको रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध विज्ञापन प्रकाशन नगरिकन बिल भुक्तानी लिए/दिएको भन्दै भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा लाग्नेहरूमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादवसहित तत्कालीन सहलेखापाल नवीनकुमार यादव, तराई पोस्टका प्रतिनिधि ओमप्रकाश यादव, जनसवाल पब्लिकेशन प्रालि तथा कम्पनीका सम्पादक रामजी बगाले र तराई पोस्टका प्रकाशक रूपेन्द्र पटेल रहेका छन् ।

फतुवा विजयपुर नगरपालिका–४ मा किसानहरूलाई औषधि स्प्रे ट्याङ्की वितरणमा अनियमितता गरेको उजुरीमा छानबिन गर्दा नगरपालिकाले बोलपत्र आह्वानको सूचना प्रकाशन गरेको दाबी गरे पनि सूचना प्रकाशन नै नभएको पाइएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । उनीहरूले पत्रिकामा सूचना प्रकाशित नै नगरी नक्कली पत्रिका तथा बिल भर्पाई पेश गरेको आरोप छ ।

नक्कली प्रति राखेर कर कट्टी गरी जनसवाल राष्ट्रिय दैनिकलाई १ लाख ७२ हजार ८ सय २५ रुपैयाँ र तराई पोस्टलाई ३९ हजार ४०० रुपैयाँ गरी जम्मा २ लाख १२ हजार २२५ रुपैयाँ हानि/नोक्सानी भएको अख्तियारको आरोप छ ।

प्रकाशित मिति: २०२५-०६-१० , समय : ०७:२९:०५ , 1 week अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित