मधेस प्रदेश : सिरहा प्रादेशिक अस्पतालमा एक बालकको मृत्यु, अवस्था तनावग्रस्त

मिति: २०२५-०६-२९ , समय : १७:३४:५१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पतालमा उपचार गराउन पुगेका एक बालकको मृत्यु भएपछि उनका आफन्त र गाउँले आन्दोलनमा उत्रिएका छन् ।

मधेस प्रदेशको सिरहा नगरपालिका वडा न. ६ का झबुलाल महराका १२ वर्षीय छोरा राजन रामको उपचारको क्रममा मृत्यु भएको हो । उनको मृत्युपश्चात आफन्त र गाउँलेले अस्पतालमा प्रदर्शन गरिरहेका छन् । अहिले अस्पतालको अवस्था तनावग्रस्त बनेको छ ।

मृतकका आफन्त र गाउँले केहीबेर अस्पताल अगाडि सडकसमेत अवरुद्ध गरेका छन् । डाक्टरको लापरबाहीले बालकको मृत्यु भएको भन्दै आफन्त र गाउँले आक्रोशित बनेका छन् । उनीहरुले अस्पतालमा तोडफोडको प्रयास गरेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

घरमा अचानक बेहोश भएपछि आज बिहान करिब साढे १० बजे ती बालकलाई आफन्तले अस्पताल भर्ना गरेका थिए । उनलाई डा. सुदेशकुमार यादवले चेकजाँच गरे । स्वास्थ्य परीक्षणको क्रममा बालकको शरीरमा रगतको मात्र अत्यधिक कम पाइएको बुझिएको छ ।

डा. यादवले तत्कालै रगत चढाउन सुझाए, तर प्रादेशिक अस्पतालभित्रै रहेको ब्लड बैंकमा रगत नभएको जानकारी दिइयो । रगत अभावकै कारण ती बालकको ज्यान गएको अस्पताल स्रोतले जनाएको छ ।

छोराको मृत्यु भएपछि आमा सुनिता महरा अचेत भएकी छन् । अस्पताल परिसरमै उनी मुर्छित भएकी हुन् ।

आन्दोलनमा सहभागी भएका वडा नम्बर ६ का अध्यक्ष इन्द्रजीत यादवले अस्पताल प्रशासन र डाक्टरहरुले चरम लापरबाही गर्ने गरेको आरोप लगाए ।

उनले भने, ‘हामीले अस्पतालको सेवा सुधार्न पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरियो । त्यसकै परिणाम आज एक बालकको ज्यान गयो । यसको जिम्मा अस्पतालले लिनुपर्छ ।’
यता साे घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०६-२९ , समय : १७:३४:५१ , 11 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित