प्रहरी बनेर ३ लाख ६४ हजार लुटपाट : दुईजना पक्राउ

मिति: २०२५-०७-०१ , समय : ०६:५७:५७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

विराटनगर । ‘जिल्ला प्रहरीबाट आएका हौं’ भन्दै मानिस अपहरण गरी लाखौं रुपैयाँ लुट्ने गिरोहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर–८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २५ वर्षीय आसिफ अन्सारी रहेका छन् । घटनामा संलग्न तेस्रो व्यक्ति भने फरार रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
असार ११ गते बिहान विराटनगर–१३, महतो टोलबाट बैंक जान लागेका विक्रमकुमार साहलाई नक्कली प्रहरी बनेर अपहरण गरी ३ लाख ६४ हजार रुपैयाँ लुटिएको थियो। पाँच दिनको अनुसन्धानपछि मोरङ प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार तीन जनाको समूहले विक्रमलाई ‘प्रहरीबाट खटिएका हौं’ भन्दै समाते । आँखा अस्पताल क्षेत्र हुँदै रेल–वे लाइनतर्फ लैजाँदै जतुवास्थित एकान्त ठाउँमा पुर्‍याई धम्क्याउँदै लुटपाट गरिएको अनुसन्धानबाट खुलेको छ ।“पछाडि फर्केर हेरे मारिदिन्छौं,” भनेर धम्क्याउँदै विक्रमकुमारसँग रहेको रकम जबर्जस्ती लुटिएको पीडितले बताएका छन्।
घटनामा प्रयोग गरिएको को १४ प ३३३० नम्बरको रातो स्कुटर समेत प्रहरीले बरामद गरेको छ। पीडितबाट लुटिएको नगद भने अझै फेला परेको छैन ।पक्राउ परेका दुवैजनामाथि शरीर बन्धक बनाई डाँका गरेको अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । साथै फरार व्यक्तिको खोजी तीव्र पारिएको छ ।

प्रकाशित मिति: २०२५-०७-०१ , समय : ०६:५७:५७ , 12 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित