साउने सङ्क्रान्ति पर्व आज मनाइँदै : कर्णाली प्रदेशमा सार्वजनिक बिदा
मिति: २०२५-०७-१७ , समय : १०:४०:४१ , लक्ष्मी चौधरी
मिति: २०२५-०७-१७ , समय : १०:४०:४१ , लक्ष्मी चौधरी
लक्ष्मी चौधरी
काठमाण्डौ । सौरमासअनुसार हरेक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवम् आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ ।
साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरू हुन्छ । माघ १ गते शुरू हुने उत्तरायण र साउन १ गते शुरू हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।
आज लुतो फाल्ने चलन पनि छ । धेरै नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको हो । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन् ।
परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर ‘कण्डारक’ नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।
लुतो फाल्दा आ-आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ ।
साउन महिनालाई विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रूपमा पनि लिइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गर्छन् ।
साउन महिनामा विशेषगरी हरियो कपडा, चुरा बढी बिक्री हुने गरेको छ । यो महिनामा धेरै महिलाले हरियो र रातो पहिरन लगाउने गर्छन् ।
यता आज कर्णालीमा साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाइँदैछ । पर्वका अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज सार्वजनिक बिदा समेत दिएको छ ।
यसअघि पनि प्रदेश सरकारले साउन १ गते कर्णाली प्रदेशमा सार्जनिक बिदा दिने गरिएको थियो ।
प्रकाशित मिति: २०२५-०७-१७ , समय : १०:४०:४१ , 17 hours अगाडि