दशौं वैद्य–प्रकाश मानव अधिकार पुरस्कार–२०८२ बाट वरिष्ठ अधिवक्ता सिंह र मैथिली अभियानता देव सम्मानित
मिति: २०२५-०८-०२ , समय : ०८:०५:३७ , गामघर डेस्क
मिति: २०२५-०८-०२ , समय : ०८:०५:३७ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
दशौं वैद्य–प्रकाश मानव अधिकार पुरस्कार–२०८२ बाट वरिष्ठ अधिवक्ता हिम्मत सिंह सम्मानित हुनुभएको छ।
मानवअधिकार योद्धा स्व.प्रकाश काफ्लेको ३३ औं स्मृति दिवसमा वैद्य–प्रकाश मानव अधिकार कोषले शुक्रबार राजविराजमा आयोजना गरेको कार्यक्रममा सिंहलाई सम्मान गरिएको हो।
सप्तरीलाई आफ्नो कार्यक्षेत्र बनाई करिब पाँच दशकदेखि वकालत पेशामा सक्रिय रहनुभएका सिंहलाई कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा तथा अन्य अतिथिहरूले संयुक्त रूपमा नगद ११ हजार रुपैयाँ सहित सम्मानित गर्नुभयो।
८४ वर्षीय सिंह विद्यार्थी आन्दोलन हुँदै कानुन व्यवसाय तथा मानव अधिकार क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। उहाँले वि.सं.२०२६ सालदेखि सर्वोच्च अदालतमा वकालत सुरु गर्नुभएको हो भने २०४२ सालमा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नुभएको थियो। हाल पनि उहाँ मानव अधिकार तथा प्रजातान्त्रिक मूल्यहरूको संरक्षणमा सक्रिय हुनुहुन्छ।
यसै अवसरमा “छैठौं उर्मिला देवी गीत गायन पुरस्कार–२०८२” बाट मैथिली महिला परिषद्का सदस्य रूपा देवलाई सम्मानित गरिएको छ। उहाँलाई कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत जनकपुर राजविराज इजलासका वरिष्ठतम् न्यायाधीश बामदेव ज्ञवाली लगायतले प्रमाणपत्रसहित नगद २ हजार ५ सय रुपैयाँ प्रदान गरी सम्मानित गरेका थिए ।
प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले आफ्नो भाइबुहारी स्व. उर्मिला देवी झाको स्मृतिमा स्थापना गरिएको यस पुरस्कारबाट विगत ६ वर्षदेखि मैथिली गीत गायनमा उत्कृष्ट महिलालाई सम्मान गर्दै आएका छन् ।
प्रकाशित मिति: २०२५-०८-०२ , समय : ०८:०५:३७ , 11 hours अगाडि