राजनीतिक आवरणमा ठगी धन्दा : राहुल मण्डलमाथि ठगी अभियोगमा पक्राउ पुर्जी

मिति: २०२५-०८-०७ , समय : २२:१४:५१ , रबि शर्मा

तस्बिर : रबि शर्मा / गामघर टिभि

रबि शर्मा

हनुमाननगर । राजनीतिक पहिचानको आड लिएर ठगी धन्दा सञ्चालन गर्दै आएका हाल हनुमाननगर कंकालिनी नगरपालिका–१० का राहुल मण्डलविरुद्ध जिल्ला अदालत सप्तरीले ठगी मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ। साथै ३५ दिने सार्वजनिक सूचना पनि जारी गर्दै उनलाई तोकिएको समयसीमाभित्र अदालतमा उपस्थित हुन कडा चेतावनी दिइएको छ।
राहुल मण्डल राजनीतिक क्षेत्रमा पूर्व माओवादी केन्द्र हुँदै जनता समाजवादी पार्टी (जसपा) सम्म पुगेका नेता हुन्। उनले २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएका थिए, तर दुवैपटक जनताले अस्वीकृत गरेका थिए। राजनीतिक रूपमा निरन्तर असफल बनेका मण्डल पछिल्लो समय नक्कली कागजात तयार गरी आर्थिक ठगी गर्ने गिरोहमा संलग्न भएको आरोपमा परेका हुन्।
नक्कली लिखतमार्फत ठगी : अदालतको कडा कारबाही
सप्तरी जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको ठगी मुद्दाअनुसार, राहुल मण्डलले एक महिलासँग झुटो लिखत, कागजात र कानुनी चलाखीमार्फत सम्पत्ति हडप्ने प्रयास गरेका थिए। यस घटनामा उनले निजी लाभको लागि ठगी गरेको पुष्टि भएपछि अदालतले उनलाई पक्राउ गर्न प्रहरी प्रशासनलाई आदेश दिँदै पक्राउ पुर्जी जारी गरेको हो।
तर मण्डल हालसम्म फरार रहेका कारण, ३५ दिने सार्वजनिक सूचना जारी गर्दै अदालतले उनलाई उक्त अवधिभित्र हाजिर हुन अन्तिम मौका दिएको छ। नत्र कानून बमोजिम फरार अभियुक्त घोषणा गरी थप कारबाही अगाडि बढाइनेछ।
राजनीतिमा अपराधको शरण?
जनताको मतबाट अस्वीकृत भएपछि, मण्डलले राजनीतिक आवरणमा आपराधिक गतिविधि सञ्चालन गर्दै आएका थिए भन्ने आरोप अब पुष्टि हुँदै गएको छ। उनले विगतमा विभिन्न राजनीतिक दल र नेताहरूको छायाँमा बसेर कागजी कारोबार र आर्थिक ठगी गरेका थिए भन्ने तथ्यहरू उजागर हुँदैछन्।
पार्टीभित्र असन्तोष, जनस्तरमा आलोचना
जनता समाजवादी पार्टी (जसपा) का स्थानीय कार्यकर्ताहरू समेत अहिले मण्डलको गतिविधिबाट अप्रसन्न देखिएका छन्। एक नेताले नाम नखुलाउने सर्तमा भने, “राजनीतिलाई बदनाम बनाउने यस्ता अनुशासनहीन व्यक्तिमाथि पार्टीले पनि स्पष्टीकरण लिनुपर्छ।”
स्थानीय जनस्तरमा पनि मण्डलप्रतिको आरोप र आलोचना तीव्र बनेको छ। “नेताको नाममा ठगी गर्ने, नक्कली कागजात देखाएर लूट गर्ने? यस्तो प्रवृत्तिमाथि कडा कारबाही होस्,” स्थानीय प्रमाेद साहको भनाइ छ। यता साे सम्बन्धमा आरोपित मण्डलसग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

प्रकाशित मिति: २०२५-०८-०७ , समय : २२:१४:५१ , 5 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित