सप्तरीमा दिनदहाडै पत्रकारमाथि चक्कु प्रहार : दोषीमाथि कार्वाहीकाे माग

मिति: २०२५-०८-१५ , समय : १४:०२:०८ , रबि शर्मा

तस्बिर : रबि शर्मा / गामघर टिभि

रबि शर्मा

राजविराज । सप्तरी जिल्लामा फेरि एक पटक गुण्डाराजको नमूना प्रष्ट भएको छ। नयाँ पत्रिका दैनिकका सप्तरी संवाददाता तथा सम्भावनायुक्त युवा पत्रकार सौरभ यादवमाथि शुक्रबार बिहान राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको दक्षिणी गेटअगाडि दिनदहाडै संघातिक आक्रमण भएको हो।
घटनामा हात र टाउकोमा गम्भीर चोट लागेका यादवको हाल गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ। पीडित यादवका अनुसार, बिहान १०:४२ बजे साथीहरूसँग कुरा गरिरहेका बेला तीन जनाको समूहले चक्कु, बेल्ट र हेलमेट प्रयोग गरी आक्रमण गरेका थिए। आक्रमणमा संलग्नको पहिचान भएको छ — छिन्नमस्ता गाउँपालिका–१, वीरपुरका कृष्णनाथ यादव (उर्फ क्याप्टेन), राजविराज–११ का राजु यादव र विष्णुपुर गाउँपालिका–७ का राजबाबु झा।
प्रत्यक्षदर्शीका भनाइअनुसार, आक्रमणमा संलग्न दुई जना र उनीहरूलाई साथ दिने मोटरसाइकल चालक घटना स्थलबाट फरार भएका छन्। घटनापछि पत्रकार, स्थानीयवासी र सरोकारवालाले जिल्ला प्रहरी कार्यालय सप्तरी र जिल्ला प्रशासन कार्यालय सप्तरीसँग तत्काल पक्राउ गरी कडा कानूनी कारबाही गर्न माग गरेका छन्।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशका पूर्व अध्यक्ष श्यामसुन्दर यादवले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्दै भने, “निर्दोषलाई इन्काउन्टर गर्न माहिर प्रहरी दोषीलाई पक्राउ गर्न किन लुकेका छन्? यसले प्रहरी प्रशासनको निकम्मापन पुष्टि गरेको छ।”
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसी जितेन्द्र बस्नेतले आक्रमणकारीमध्ये एक जनाको पहिचान भइसकेको र खोजी भइरहेको बताए। “कानुनअनुसार कारबाही हुन्छ,” उनले भने। तर घटनाको संवेदनशीलता, आक्रमणकारीको पहिचान भइसके पनि अहिलेसम्म पक्राउ नगर्नु प्रहरी प्रशासनको कार्यक्षमता र प्रतिबद्धताप्रति गम्भीर प्रश्न बनेको छ।
स्थानीय सरोकारवालाहरूले दोषीलाई अविलम्ब पक्राउ गरी कडा सजाय दिलाउन, पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न र प्रेस स्वतन्त्रता कायम राख्न सरकार तथा सम्बन्धित निकायलाई चेतावनी दिएका छन्।

प्रकाशित मिति: २०२५-०८-१५ , समय : १४:०२:०८ , 4 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित