जेन जी’ प्रदर्शन अपडेट : काठमाडौंमा १९ जनाको मृत्युु , झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै , गृहमन्त्री लेखकको राजीनामा

'जेन जी' काे आवाजप्रति गम्भीर बन्न सरकारलाई मानव अधिकार आयाेगकाे निर्देशन ,काठमाडौंका निजी विद्यालय बन्द

मिति: २०२५-०९-०८ , समय : २१:४२:०८ , लक्ष्मी / शुभ नारायण यादव

तस्बिर : गामघर टिभि / सामाजिक सन्जालबाट

लक्ष्मी / शुभ नारायण यादव

काठमाण्डाै । ‘जेन जी’ भनिने नवयुवा पुस्ताको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म १९ जना पुगेको छ ।

काठमाण्डौको बानेश्वर क्षेत्रमा र सुनसरीमा समेत गरी उनीहरूकाे ज्यान गएको हो । प्रहरीले आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन । अस्पतालहरूको विवरण अनुसार ज्यान गुमाउनेको संख्या १९ जना पुगेको हो ।

अस्पतालहरूको विवरण अनुसार काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ८ जनाको ज्यान गएको छ । यस्तै एभरेस्ट अस्पताल बानेश्वरमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षणमा १ र केएमसीमा २ जनाको ज्यान गएको हो । यस्तै इटहरीकाे सुनसरीमा प्रहरीको गोली लागेर २ जनाको ज्यान गएकाे हाे ।

अस्पतालहरूको विवरण अनुसार विभिन्न अस्पतालमा गरी ३ सय ४७ जना घाइतेको उपचार भइरहेको छ । अस्पतालहरूका अनुसार ज्यान गुमाउने र गम्भीर अवस्थाका धेरै घाइतेको टाउको र छातीमा गोली लागेको छ ।

‘जेन जी’ हरू सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा प्रदर्शनमा उत्रिएका हुन् । सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएकाहरूलाई ‘जेन जी’ पुस्ता भनिन्छ ।

‘जेन जी’ यिनीहरू इन्टरनेटको विकाससँगै हुर्किएका हुन् । विश्वव्यापीकरणको प्रभावले यो पुस्ता धेरै परिवर्तनबारेमा जानकार रहे पनि नेपालमा परम्परागत शासकका कारण रुष्ट छन् । यिनीहरूले सामाजिक सञ्जालको भित्तामा आन्दोलन गर्दै आएकामा सरकारले सामाजिक सञ्जादल बन्द गरेपछि सडsमा आएका हुन् । तर सरकारले सडकमा आएको पहिलो दिन नै ‘जेन जी’ माथि बर्बरतापूर्वक गोली चलाएको छ ।
यता राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन जी’ पुस्ताको आवाजप्रति गम्भीर बन्न र प्रदर्शनकारीहरूमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगले आज विज्ञप्ति निकालेर यस प्रकारका प्रदर्शनअघि नै उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन, प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजहरूको यथोचित रूपमा समयमै सम्बोधन गर्न, मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको निःशुल्क उपचार गर्न, घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गरी घटनाका दोषीलाई कडा कारबाही गर्न निर्देशन दिएको हो ।

प्रदर्शनको आयोगले अनुगमन गरेको र अनुगमनका क्रममा हिँडेको आयोगको गाडी र अनुगमन टोलीमाथि समेत हिंसात्मक आक्रमण भएकाे विज्ञप्तिमा उल्लेख छ । यस्तै काठमाडौं उपत्यकाका निजी विद्यालय भोलि (भदौ २४ गते) बन्द हुने भएका छन् । सोमबार जेन-जीको प्रदर्शनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय सञ्चालकहरूले एक दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।साना तथा ठूला विद्यालयहरूले मंगलबार एक दिन विद्यालय बन्द रहने सूचना अभिभावकहरूलाई पठाएका छन् ।
सोमबारको प्रदर्शनमा परी साँझसम्म १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने सयौं प्रदर्शनकारी घाइते भएका छन् ।प्रदर्शनमा केही विद्यालयका विद्यार्थीसँगै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू समेत सहभागी थिए ।
यता सोमबार भएको भ्रष्टाचारविरोधी प्रदर्शनमा अत्याधिक बल प्रयोग भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। सोमबार नै उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।

राजीनामाअघि कांग्रेसको बैठकमा नेताहरुले उनको राजीनामा मागेका थिए। नेता डा.शेखर कोइरालाले सामाजिक सञ्जालमार्फत नै उनको राजीनामा मागेका थिए।


पछिल्लो कार्यकालभरी नै लेखक अनेक काण्डमा मुछिदै आएका थिए।

प्रकाशित मिति: २०२५-०९-०८ , समय : २१:४२:०८ , 1 day अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित