सप्तरीको हनुमाननगरका युवा नेता राहुल मण्डल कारागारबाट फरार
मिति: २०२५-०९-१३ , समय : १४:०८:१४ , रबि शर्मा
मिति: २०२५-०९-१३ , समय : १४:०८:१४ , रबि शर्मा
रबि शर्मा
हनुमाननगर ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.१० निवासी युवा नेता राहुल मण्डल, जो माओवादी केन्द्रका पूर्व नगर अध्यक्ष तथा हाल जसपा नेपालको प्रचार विभागका जिल्ला सदस्यसमेत हुन्, ठगी मुद्दामा जिल्ला अदालत सप्तरीको आदेशमा केही समयअघि जिल्ला कारागार सप्तरीमा पुर्वपक्षका लागि जेल चलान भएका थिए।
तर हाल देशभर देखा परेको अस्थिर परिस्थिति र विभिन्न स्थानमा भइरहेको आन्दोलनको अवसरलाई उपयोग गर्दै मण्डल शुक्रबार जिल्ला कारागार सप्तरीबाट फरार भएका छन्।
फरार हुन मण्डललाई एभरेष्ट स्कूलका शिक्षक मातृका यादवले सहयोग गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। यादवले आफ्नो कालो रंगको RTR 160cc मोटरसाइकल (मधेश प्रदेश-०६-००१-प-२८७२) प्रयोग गरी मण्डललाई कारागारबाट बाहिर निकालेको बताइएको छ।
यसबाहेक, हनुमाननगरस्थित साझा बहुउद्देश्य सहकारी संस्थाका अध्यक्षसमेत रहेका मण्डललाई भाग्न सहजीकरण गर्न सोही संस्थामा कार्यरत कर्मचारी कनहैया मण्डलले पनि सहयोग गरेको प्रमाणस्वरूप भिडियो फुटेज सार्वजनिक भएको छ।
यस घटनापछि कारागार प्रशासनमाथि पनि प्रश्न उठेका छन् भने स्थानीय सुरक्षाप्रशासनले फरार मण्डललाई चाँडै नियन्त्रणमा लिन विशेष अपरेशन सुरु गरेको जनाएको छ।
प्रकाशित मिति: २०२५-०९-१३ , समय : १४:०८:१४ , 6 days अगाडि