जेनजी आन्दोलनले डिभिजन वन कार्यालय सप्तरीमा करोडौंकाे क्षति

मिति: २०२५-०९-१९ , समय : १२:२५:०० , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभि

गामघर डेस्क

राजविराज ।
डिभिजन वन कार्यालय सप्तरीमा करोडौं मुल्य बराबरको क्षति भएको छ ।
भदौ २४ गते जेनजीले गरेको प्रदर्शनका क्रममा कार्यालयको भवनसहित त्यहाँ रहेका महत्वपूर्ण कागजात तथा जिन्सी सामान मध्ये केहीमा आगजनी तथा लुटपाट गरिएको थियो ।
आगजनी, तोडफोडपछी लुटपाटबाट १ करोड ७१ लाख ८१ हजार ९ सय ४० रुपैयाँ मुल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको डिभिजन वन कार्यालयका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिएका छन् ।
उहाँले आगजनीबाट ७० लाख रुपैयाँ बराबरको भवन पूर्ण रुपमा जिर्ण बनेकोले अहिले त्यस कार्यालयबाट सेवा प्रवाहा गर्ने अवस्था समेत नरहेको बताउनु भयो ।
उहाँले आन्दोलनका क्रममा कम्प्युटर, ल्यापटप, अग्नि नियन्त्रणका उपकरण एयर ब्लोवर, जिपिएस सेट, प्रोजेक्टर, सीसी क्यामेरा, एसी, सोफा, दराज, टेबल–कुर्सीलगायतका सामग्री नष्ट हुनुका साथै लुटेर पनि लगिएको कार्यालयमा जडित सीसी क्यामराको फुटेजबाट प्रष्ट देखिएको बताउनु भयो ।
कार्यालय पुर्ण रुपमा जिर्ण भइसकेकाले तत्काल कामकाज सञ्चालनमा समस्या भएको हुँदा हाल राजविराज ८ स्थित पहिलाको भूसंरक्षण कार्यालयबाट सेवा प्रवाह गर्ने गरी तयारी भइरहेको प्रमुख दासले बताउनु भयो ।
लुटेर लगिएका सामानहरु फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेपछि तीन वटा आगो निभाउने जेट सुटर र एक थान जिपिएस प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको रोहबरमा फिर्ता आएको र अझै चोरी भएका सामग्री भने फिर्ता हुन नसकेको दासले बताउनु भयो ।

प्रकाशित मिति: २०२५-०९-१९ , समय : १२:२५:०० , 5 hours अगाडि