सप्तरीमा सडक निर्माणको माग गर्दै सिटी रिक्सा व्यवसायीहरुकाे प्रदर्शन

मिति: २०२५-०९-१९ , समय : १९:४८:५० , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभि

गामघर डेस्क

राजविराज ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अगाडि सिटी रिक्सा व्यावसायीहरुले सडक निर्माणको मांग गर्दै प्रदर्शन गरेका छन् । विशाल चौक देखि मट्टीगढी सम्मको सडक मर्मतको माग गर्दै सिटी व्यवसायी तथा सिटी रिक्सा मजदुरहरुले जनप्रतिनिधि विरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेका हुन् ।
गाउँपालिका भरीका सिटी रिक्सा व्यवसायीहरुले गाउँ पालिका अगाडि सिटी रिक्सा तेर्साएर विरोध जनाएका छन् ।
‘विशाल चौकदेखि मट्टीगढी सम्मको सडक निर्माण गर, भ्रष्टाचारीलाई कारबाही गर, सुशासन कायम गर, भ्रष्टचारी जनप्रतिनिधि मुर्दावाद, भ्रष्ट अध्यक्ष मुर्दावाद, सम्पूर्ण सिटी रिक्सा व्यवसायी एक हऔ’लगायतका चर्का नारा लगाउँदै आधा घण्टा विरोध प्रदर्शन गरेका थिए ।
ऊनीहरुले दिउँसो २ बजेदेखि साँझ ४ बजेसम्म गाउँपालिकाको मुलगेटमा २ घण्टा सिटी रिक्सा तेर्साएर विरोध जनाएको छ ।
विरोधपछि गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीसहितका जनप्रतिनिधिहरुले तत्कालै सडक मर्मत गर्ने प्रतिबद्धता जनाउँदै बाटो निरीक्षण गर्न गएपछि आन्दोलनरत पक्ष नाराबाजी स्थगित गरेका थिए ।
बाटो मर्मत गर्ने नाममा २० लाख बजेट लगानी गरिएपनि दुरुपयोग हुँदा बाटो झनै विगारेकोले दैनिक दुर्घटना हुने तथा सिटी चलाउने अबस्था नहुँदा रोजगारी समेत समाप्त भएकोले आन्दोलनमा उत्रिन बाध्य भएको सिटि रिक्सा व्यावसायी संघका गाउँपालिका अध्यक्ष खेलराम चौधरीले सञ्चारकर्मीलाई जानकारी दिनु भयो ।
उहाँले अविलम्ब बाटो मर्मत सम्भार गरि सिटी रिक्सा संचालन गर्ने बाताबरण बनाउन आग्रह गर्दै सुनुवाइ नभए पुन सशक्त आन्दोलन गर्ने चेतावनी दिनु भएको छ ।

प्रकाशित मिति: २०२५-०९-१९ , समय : १९:४८:५० , 4 hours अगाडि