जनकपुर चुरोट कारखाना सञ्चालन गर्न जेनजी युवाहरुको माग
मिति: २०२५-०९-३० , समय : ०७:२४:५८ , गामघर डेस्क
मिति: २०२५-०९-३० , समय : ०७:२४:५८ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
राजविराज ।
जेनजी युवा समूहले जनकपुर चुरोट कारखाना पुनः सञ्चालनका लागि सोमवार मधेस प्रदेसका उद्योगमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालन गर्न माग गर्दै जेनजी युवाहरूको एक समूहले मधेस प्रदेसका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई ज्ञापनपत्र बुझाएको हो ।
मुलुककै महत्त्वपूर्ण उद्योगको रूपमा रहेको कारखाना बन्द हुँदा किसान, मजदुर र समग्र प्रदेशको अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
ज्ञापनपत्रमा कुनै समय देशको रोजगारी सिर्जना र स्थानीय किसानको आयस्रोतमा महत्त्वपूर्ण योगदान पु¥याएको कारखाना सरकारी उदासीनता र राजनीतिक हस्तक्षेपका कारण बन्द हुन पुगेको ज्ञापन पत्रमा उल्लेख छ । ‘सरकारको स्पष्ट र दीर्घकालीन औद्योगिक नीतिको अभाव तथा बढ्दो राजनीतिक हस्तक्षेपको कारण कारखाना धाराशाही भएको ज्ञापनपत्रमा भनिएको छ । मधेश प्रदेशको सुर्ति खेतीमा आश्रित हजारौं किसानको आयस्रोतमा कमी आउनुका साथै कारखाना बन्द हुँदा किसानहरूले आफ्नो उत्पादन बेच्न नपाएको, ग्रामीण क्षेत्रमा बेरोजगारी बढेको र किसानहरूको जीवनस्तरमा गिरावट आएको ज्ञापनपत्रमा उल्लेख छन् ।
जेनजी युवाहरूले मधेश प्रदेश सरकारले प्रयोग गरिरहेको जनकपुर चुरोट कारखानाको स्थल खाली गराई पुनः सञ्चालन गर्नुपर्ने, उद्योग पुनः सञ्चालनको व्यावहारिक प्रक्रिया अघि बढाउनका लागि एक विशेष अध्ययन टोली गठन गर्नुपर्ने र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले यस कारखानासहित ८ वटा उद्योग बेच्ने भनी अघि बढाएको प्रक्रियालाई तत्काल रोक्नुपर्ने माग गरेका छन् ।
सो अवसरमा जेनजीका युवाहरु शिव यादव, बब्लु गुप्ता, लक्ष्मी घिमिरे, रामराज पाण्डे लगायतकाले कारखानाको पुनः सञ्चालनले किसान, मजदुर र सम्पूर्ण प्रदेशको अर्थतन्त्रमा बृद्धि हुने भएकाले प्रदेस सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिइएका छन ।
त्यस्तै सहकारी, लघुवित्त मिटरब्याजबाट वर्षौंदेखि किसान मजदुर, शोषित र उत्पीडित भएको विषय पनि उठाइएको सो समूहका बव्लु गुप्ताले जानकारी दिनु भयो । उहाँले भूमिहीन सुकुम्बासी समस्या समाधान र सहकारी पीडितका बचत फिर्ता गर्नुपर्ने लगायतको माग राखेको बताउनु भयो । यस्तै उखु किसानको अनुदान रकम वृद्धि गर्नुपर्ने, वीरगञ्ज औजार कारखानालाई थप व्यवस्थापन गर्नुपर्ने, जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरूको परिवारको अवस्था अध्ययन गरी रोजगारी दिनुपर्ने लगायतका मागं ज्ञापनपत्रमा उल्लेख छन ।
प्रकाशित मिति: २०२५-०९-३० , समय : ०७:२४:५८ , 2 months अगाडि