नेपाली सेनाले मुलुकमै प्रसिद्ध सप्तरीको छिन्नमस्ता मन्दिर परिसरमा शिव मन्दिर निर्माण

मिति: २०२५-०९-३० , समय : २१:४५:०६ , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभि

गामघर डेस्क

राजविराज ।
सप्तरीमा शक्तिपीठ छिन्नमस्ता सखडा मन्दिर परिसरभित्र नेपाली सेनाले निर्माण गरेको शिव मन्दिरको विधिपूर्वक उद्घाटन गरिएको छ ।
वडादशैंको फूलपातीको अवसर पारेर मन्दिरलाई छिन्नमस्ता मन्दिर संरक्षण समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।
नेपाली सेनाका अनुसार, मन्दिर निर्माण मध्यपूर्वी पृतना अन्तर्गत २७ नम्बर वाहिनी तथा सम्बन्धित युनिटहरूको समन्वय र अथक पहलमा सम्पन्न गरिएको हो ।
उद्घाटन समारोहमा मध्यपूर्वी पृतनाका पृतनापति उपरथी कृष्ण बहादुर जी.सी.ले नेपाली सेनाले राष्ट्रिय सुरक्षासँगै सांस्कृतिक सम्पदाको संरक्षणमा दिएको योगदान सराहनीय रहेको बताउनु भयो । उहाँका अनुसार यस्ता पहलहरूले सेना–जन सम्बन्धलाई अझ सुदृढ बनाउन मद्दत पुग्नेछ ।
बरख गणका गणपति प्रमुख सेनानी सोवित बहादुर चन्दले छिन्नमस्ता मन्दिरको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राखी मन्दिर परिसरको संरक्षण, श्रद्धालु तथा पर्यटकमैत्री व्यवस्थापन, साथै स्थानीय तह, मन्दिर समिति र सुरक्षासंस्थाबीच सहकार्यलाई निरन्तर अघि बढाइने जानकारी दिनु भयो । यता मन्दिरभित्र श्रृंखलाबद्ध रूपमा प्रतिष्ठित पाँच देवी देवताका मूर्तिहरू भैरवी, चामुण्डा, छिन्नमस्ता, दक्षिणकाली र महिषमर्दिनीको धार्मिक महत्त्व पनि संक्षेपमा प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति: २०२५-०९-३० , समय : २१:४५:०६ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित