मधेस प्रदेश सहित चारवटा प्रदेश बाढीको उच्च जोखिममा : लगातारको बर्षाले मुग्लिन–नागढुंगा सडक पहिरोले अवरुद्ध
मिति: २०२५-१०-०४ , समय : ०८:५८:५६ , शुभ नारायण यादव
मिति: २०२५-१०-०४ , समय : ०८:५८:५६ , शुभ नारायण यादव
तस्बिर : एस. एन.. यादव / गामघर टिभि
शुभ नारायण यादव
काठमाण्डाै । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान् महाशाखाले आजदेखि मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको क्षेत्रका नदीहरूमा बहाव बढ्न सुरु हुने पूर्वानुमान गरेको छ । महाशाखाका बाढीविद् विनोद पराजुलीले आज दिउँसोदेखि सबै प्रमुख नदीहरूमा पानीको बहाव बढ्न सुरु हुने जानकारी दिनुभयो ।

आज राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरू भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ । यस्तै भोलि बिहानदेखि बेलुकासम्मको अवधिमा नारायणी, कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला र आसपासका नदीहरू तथा तिनका शाखा नदीहरूमा बहाव उल्लेख्य रुपमा बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्नेछ ।
भोलि रातिदेखि प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै जाने र कोशी, कन्काईलगायत नदी जलाधारका क्षेत्रमा समेत बहाव उल्लेख्य बढ्न सक्ने पराजुलीले जानकारी दिनुभयो ।
यता मुग्लिन–नागढुंगा सडक खण्डको जवाङ खोला नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण आएको पहिरोले सडक अबरुद्ध बनेको हो । यस्तै मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै पहिरो जाँदा सडक एकतर्फी मात्रै सञ्चालनमा छ । अहिले गाडी चलिरहे पनि केही ठाउँमा ढुंगाहरु झर्ने क्रम रहेकोले जोखिम रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

यसैबीच सडक विभागले पर्सि सोमवारसम्म सडक अवरुद्ध हुने सम्भावना उच्च रहेको भन्दै सचेत रहन अनुरोध गरेको छ । मनसुन प्रणाली सक्रिय भएर अत्यधिक वर्षा हुँदा पहिरो र बाढीको उच्च जोखिम रहने विभागले जनाएको हो । विशेषगरी मुग्लिङ–नारायणगढ सडक, मुग्लिङ–गोरखा सडक, बिपी राजमार्ग, अरनिको राजमार्ग, त्रिभुवन राजपथ, गल्छी–स्याङ्जा सडक अवरुद्ध हुन सक्ने भन्दै यी ठाउँहरुमा रातिको समयमा यात्रा नगर्न विभागले आग्रह गरेको छ । सडक विभागका प्रवक्ता प्रभातकुमार झाले प्रभावित क्षेत्रका अवरुद्ध सडक खण्डहरूमा आवश्यक उपकरण परिचालन गरी तत्कालै मर्मत तथा पहिरो हटाउने कार्य अघि बढाइने जानकारी दिनुभएको छ ।
विभागले सडक प्रयोगकर्तालाई आवश्यक सूचना पाउन टोल–फ्री नम्बर ९८५१४१६८९३ वा नजिकको सडक कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । विभागले सडक अवरुद्ध हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सम्पूर्ण सडक प्रयोगकर्तालाई सतर्क रहन अनुरोध गरेको छ ।विभागले यात्रुहरूलाई केही दिन मुख्य राजमार्गको प्रयोग गर्न सुझाव दिएको छ । मुख्य राजमार्गमा नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायत सुरक्षाकर्मीको व्यवस्था हुनाका साथै बाटो मर्मतको कार्य पनि चाँडो हुने भएकाले मुख्य राजमार्ग प्रयोग गर्न विभागले सुझाएको हो ।

विजयादशमीका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने क्रम जारी रहेसँगै रातको समयमा यात्रा गर्दा पहिरोका कारण बढी धनजनको क्षति हुन सक्ने भएकाले सकेसम्म रातमा यात्रा नगर्न विज्ञहरूले पनि सुझाव दिएका छन् ।
प्रकाशित मिति: २०२५-१०-०४ , समय : ०८:५८:५६ , 2 months अगाडि