मधेश प्रदेशमा काँग्रेस नेतृत्वमा नयाँ सरकारको लागि दाबी पेश

मिति: २०२५-१०-०९ , समय : ०८:५५:३० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेश प्रदेशमा काँग्रेस नेतृत्वमा सरकार बनाउन दाबी पेश गरेको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन काँग्रेस, एमाले र जनमतले बहुमत सांसदको हस्ताक्षर सहित दाबी पेश गरेको हो । दावी पेश गर्नु अघि मुख्यमन्त्री सतिशकुमार सिंहलाई कायम राखेको समर्थन एमालेले फिर्ता लिएको थियो ।

संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नयाँ सरकार गठनका लागि दावी पेश गरिएको छ । एमालेका २३, कांग्रेसका २२ र जनमतका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा नयाँ सरकार गठनका लागि दावी पेश गरिएको हो ।

१०७ सदस्य प्रदेश सभामा सरकार बनाउन ५४ सदस्य आवश्यक पर्छ । जनमतबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले जिनजी आन्दोलनको क्रममा गत भदौ २४ गते फेसबुकबाट राजीनामा घोषणा गरेका थिए । तर अवस्था सहज भएपछि उनले पछाडि राजीनामा नदिने अडान लिँदै सदन फेस गर्ने बताएका थिए ।

जनमत संसदीय दलको निर्णयलाई समेत सिंहले बेवास्ता गरेपछि गत भदौ ३१ गते उसले आफ्ना मुख्यमन्त्री मन्त्री सहित फिर्ता बोलाएको र सरकारबाट समर्थन फिर्ता लिएको पत्र सभामुख रामचन्द्र मण्डललाई बुझाएको थियो ।

एक साताअघि मात्रै नेपाली कांग्रेसले समर्थन फिर्ता लिँदै आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएको थियो । एमालेले भने सिंहलाई काँध थापेको थियो । कांग्रेसले समर्थन फिर्ता लिइसकेपछि एमाले बाध्य भएर समर्थन फिर्ता लिएर नयाँ सरकारको लागि अघि बढेको हो । एक साताअघि नै एमाले, कांग्रेस र जनमत बीच सरकार बनाउने सहमति भएको थियो ।

प्रकाशित मिति: २०२५-१०-०९ , समय : ०८:५५:३० , 1 week अगाडि