सप्तरीको अग्नीसाइरका शिक्षक र स्वास्थ्यकर्मीहरु तलवभत्ता माग गर्दै आन्दोलित
मिति: २०२५-१०-१२ , समय : २१:१९:५९ , गामघर डेस्क
मिति: २०२५-१०-१२ , समय : २१:१९:५९ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
राजविराज ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका शिक्षक र स्वास्थ्यकर्मीहरुले तलवभत्ता माग गर्दै आन्दोलनमा उत्रिएका छन् । गाउँपालिकामा आइतबार ज्ञापनपत्र बुझाउँदै उनीहरूले तालाबन्दी लगायतका आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन् ।
उनीहरुले सोमबारसम्म तलव भत्ता उपलब्ध गराउन माग गर्दै २४ घण्टे अल्टिमेटम दिइएको छ । तोकिएको समयमा माग सम्बोधन नगरिए अध्यक्ष, उपाध्यक्ष, वडा कार्यालय र सम्पुर्ण शाखाहरुमा मंगलबार तालाबन्दी गरी धर्ना दिने ज्ञापन पत्रमा चेतावनी दिइएको छ ।
तिहार विदाको अघिल्लो दिन सम्म पनि माग सम्बोधन नभए छठ पछि गाउँपालिका मातहतका सम्पूर्ण विद्यालय स्वास्थ्य संस्थाहरु अनिश्चितकालीन बन्द गर्ने बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी, उपाध्यक्ष कल्पना कुमारी चौधरी र ६ वटै वडा अध्यक्षलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा आन्दोलनको कार्यक्रमबाट सिर्जित हुने सम्पुर्ण क्षतिको जिम्मेवारी गाउँपालिका परिवारले लिनुपर्ने जनाइएको छ ।
गाउँपालिका अन्तर्गतका शिक्षक, कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको संयुक्त बैठकको निर्णय अनुसार धर्ना कार्यक्रममा सम्पुर्ण विद्यालयबाट २/२ जना र स्वास्थ्य संस्थाबाट गाउँपालिकामा उपस्थित हुन ज्ञापनपत्रमा आग्रह समेत गरेका छन् ।
यसैगरी गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीसहित जनप्रतिनिधिहरुको राजिनामा माग गर्दै आन्दोलनरत बेथिति विसंगति विरुद्ध संघर्ष समितिले शिक्षक कर्मचारीहरुको आन्दोलनमा एक्यवद्धता जनाउँदै माग सम्बोधनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । संघर्ष समितिका प्रबक्ता तुलसी थारुले शिक्षक तथा स्वास्थ्यकर्मीलाई समयमा तलव भत्ता खुवाउन नसक्ने जनप्रतिनिधि असक्षम सावित भएको भन्दै राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने जिकिर गर्नु भयो ।
संघर्ष समितिले अध्यक्षसहित जनप्रतिनिधिहरुले राजिनामा दिनुपर्ने, वडा नम्बर १ स्थित तपेश्वरी हटियामा संचालनमा रहेको अध्यक्षको सचिवालय खारेज गर्नुपर्ने, कर्मचारीहरुलाई तलवभत्ता उपलब्ध गराउनु पर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, सुशासन कायम गर्नुपर्ने लगायतका विभिन्न माग राखी आइतबार गाउँपालिका अगाडि विरोध प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति: २०२५-१०-१२ , समय : २१:१९:५९ , 2 months अगाडि