तिहार अर्थात् यमपञ्चक शुरु : आज धनतेरस मनाईंदै
मिति: २०२५-१०-१८ , समय : ०७:२२:३६ , गामघर डेस्क
मिति: २०२५-१०-१८ , समय : ०७:२२:३६ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डौ । यस वर्षको यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो एक बजेर २३ मिनेटसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार पर्व शुरु भएको हो ।
दिउँसोपछि त्रयोदशी तिथि परेकाले आजै धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमदीपदान पनि आजैदेखि शुरु हुने समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्राध्यापक डा. देवमणि भट्टराईले जानकारी दिनुभयो ।
भोलि काग तिहार र धनवन्तरी जयन्ती परेको छ । तिथिको घटबढका कारण पर्सि सोमवार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पनि समितिले जनाएको छ । कात्तिक ३ गते दिउँसो दुई बजेर ५२ मिनेटसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि तीन गते परेको छ ।
४ गते मङ्गलवार यमपञ्चक अर्थात् तिहारको मध्य समय परेपनि शास्त्रले तोके अनुसार कुनै कर्म परेको छैन । गाईगोरु एवम् गोवर्द्धन पूजा कात्तिक ५ गते बुधवार परेको छ । आत्म पूजा र नेपाल संवत्को आरम्भ यसै दिन परेको छ । कात्तिक ६ गते बिहीवार भाइटीका छ । भाइटीकाको शुभ साइत ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको समितिले यसअघि नै जानकारी गराएको छ । नेवारी समुदायको किजापूजा पनि कात्तिक ६ गते गरिन्छ ।
प्रकाशित मिति: २०२५-१०-१८ , समय : ०७:२२:३६ , 18 hours अगाडि