विचित्रको संसार : १३ वर्षीया बालिकाको शव जंगलमा फेला, बलात्कारपछि हत्या गरिएको आशंका

मिति: २०२५-१०-२५ , समय : ०९:४०:४७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । दशैंका रमाइलो माहोलमै हराएकी मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीया अंशु गौतम शुक्रबार जंगलभित्र मृत अवस्थामा फेला परेकी छन् । दुई साताअघि घर नजिकैबाट हराएकी अंशुको शव स्थानीयले घाँस काट्न जाँदा देखेपछि प्रहरीले उद्धार गरेको हो ।
लेटाङ र बेलबारीको सिमानामा पर्ने बेलबारी–चिसाङ साझेदारी सामुदायिक वनभित्र उनको शव अत्यन्तै कुहिएको र बीभत्स अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार शवको टाउको र शरीर छुट्टिएको अवस्थामा भेटिएको थियो ।
‘शव फेला परेको दृश्य अत्यन्तै भयावह थियो,’ एसपी कटवालले भने, ‘घटनास्थल हेर्दा यो यौनजन्य हिंसा र हत्या दुवैको संकेत देखिन्छ ।’
घटनास्थलमा अंशुले लगाएका ट्राउजर र हाफपाइन्ट फुकालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । यसबाट बलात्कारपछि धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
अंशु गत असोज २१ गते साँझ करिब ५ बजेतिर घर नजिकैबाटै हराएकी थिइन् । परिवार र स्थानीयले निरन्तर खोजी गरे पनि दुई सातासम्म कुनै सुराक लागेको थिएन ।
शुक्रबार दिउँसो करिब १ः३० बजेतिर स्थानीयले घाँस काट्ने क्रममा जंगलभित्र उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी र स्थानीयको उपस्थितिमा शव उठाइएको हो ।
लेटाङ–२ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले अंशु लक्ष्मी माध्यमिक विद्यालयकी कक्षा ५ की विद्यार्थी रहेको जानकारी दिए । ‘उनी एक सामान्य परिवारकी छोरी थिइन् । यस्तो निर्दयी अपराधले सम्पूर्ण समुदायलाई स्तब्ध पारेको छ,’ उनले भने, ‘दोषी जोसुकै होस्, कडा कानुनी कारबाही हुनुपर्छ ।’
प्रहरीले घटनास्थल वरिपरि रहेका बासिन्दा र शंकास्पद व्यक्तिहरूसँग बयान लिँदै अनुसन्धान अघि बढाएको छ । शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।
एसपी कटवालका अनुसार, फरेन्सिक रिपोर्टपछि मात्र घटनाको वास्तविक कारण र अपराधको स्वरूप पुष्टि हुनेछ । तर घटनास्थलको अवस्थाले मानव आक्रमणकै संकेत देखाइरहेको उनले बताए ।
यता बालिका बेपत्ता भई जंगलमा बलात्कारपछि हत्या गरिएको आशंकाले लेटाङ र आसपासका बस्तीमा त्रास फैलिएको छ । स्थानीयवासीले चाँडो भन्दा चाँडो दोषी पत्ता लगाई कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति: २०२५-१०-२५ , समय : ०९:४०:४७ , 1 month अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित