सप्तरीको लाेखरमकाे मुसहर बस्तीमा झाडापखाला भएकामध्ये ५ जनाको उपचार चल्दै
मिति: २०२५-११-०४ , समय : १५:०३:५० , गामघर डेस्क
मिति: २०२५-११-०४ , समय : १५:०३:५० , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
राजविराज । सप्तरीको मुसहर बस्तीमा झाडापखाला भएका १६ जनामध्ये अहिले पाँच जनाको उपचार भइरहेको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको वडा–५ मा रहेको दलित मुसहरबस्तीका १६ जनामध्ये अहिले पाँच जनाको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहले जानकारी दिनुभएको छ । बाँकी उपचारपछि घर फर्केका छन् ।

अस्पतालमा आएका मध्ये नौ जनाको नमूना परीक्षणका लागि पठाएकोमा चार जनामा प्रारम्भिकरूपमा हैजा देखाएको छ । यो आरडीटी परीक्षणबाट मात्रै पुष्टि भएकाले थप परीक्षणबाट मात्रै हैजाबारे यकिन गर्न सकिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.चन्द्र भाल झाले जानकारी दिनुभएको छ ।
केही दिनमा कल्चरको रिपोर्ट आएपछि मात्रै मुसहर बस्तीमा फैलिएको झाडापखाला हैजा हो वा होइन यकिन हुने उहाँले जानकारी दिनुभएको छ । जनचेतनाको कमीका कारण सरसफाई र स्वास्थ्य संस्थामा जान हिच्किचाउने गरेको छिन्नमस्ता गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपेन्द्रप्रसाद यादवले बताउनुभएको छ ।

यस क्षेत्रमा अहिले खानेपानी सरसफाइबारेमा जनचेतनामुलक कार्यक्रमसँगै परामर्शसेवा समेत दिइरहेको उहाँले बताउनुभयो । यो बस्तीमा खुल्ला शौच मुख्य समस्या रहेको छ । स्वास्थ्य केन्द्र नजिक भए पनि स्थानियबासिन्दाले घरेलु उपचार गर्ने र क्लिनिकमा गएर औषधी किनेर खाने गरेका छन् । पछिल्लो पटक झाडापखालाबाट एकै परिवारका तीन जनाको ज्यान गएको थियो ।
प्रकाशित मिति: २०२५-११-०४ , समय : १५:०३:५० , 4 weeks अगाडि