मधेशकी छोरी रागनी कुमारी यादव देशकै‘सर्वोत्कृष्ट प्रहरी’को रुपमा सम्मानित

मिति: २०२५-१२-०१ , समय : १४:४७:५६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं ।
मधेश प्रदेशकी चेली प्रहरी सहायक निरीक्षक रागनी कुमारी यादव नेपालभरिकै ‘सर्वोत्कृष्ट प्रहरी’ कर्मचारीकाे रूपमा सम्मानित भएकी छिन् । इलाका प्रहरी कार्यालय गरुडामा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत रागनीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमार्फत पुर्‍याएको सेवा, समर्पण र संवेदनशीलताका कारण यो उपाधि पाएकी हुन्। मधेस प्रदेशको पर्साकाे वीरगन्ज घर निवासी रागनी बि.स २०७६ सालदेखि प्रहरी संगठनमा आबद्ध भएकी हुन्।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत काठमाडौंमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उनलाई ४० हजार रुपैयाँ नगद तथा प्रशंसापत्रसहित सम्मान गरेका छन् । पीडितमैत्री सेवा प्रवाह, मानवता केन्द्रित काम र विभागीय आचारसंहिताको उत्कृष्ट पालना गरेको आधारमा उनलाई सर्वोत्कृष्ट प्रहरी कर्मचारीको रूपमा छनोट गरिएको जनाइएको छ।
उनले गत वर्षमा मात्र २८७ वटा खोजतलास उजुरीमध्ये २८३ जनालाई फेला पारी जिम्मेवारीपूर्वक अभिभावकको जिम्मा लगाएकी थिइन्। घरेलु हिंसा तथा लैंगिक हिंसाका सयौँ उजुरीहरूलाई समयमै दर्ता, मिलापत्र, अनुसन्धान र कानूनी प्रकृया अघि बढाउँदै उनले पीडितहरूलाई सुरक्षित आश्रयदेखि काउन्सिलिङ र कानूनी सहयोगसम्म उपलब्ध गराएकी थिइन्। पीडितको गोपनीयता, सुरक्षा र मनोवैज्ञानिक अवस्था प्रति देखाएको संवेदनशीलताले उनको कामलाई अझ प्रभावकारी बनाएको सहकर्मीहरू बताउँछन्।
विद्यालय, स्थानीय तह, महिला समूह तथा समुदायसँग संयुक्त रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी लैंगिक हिंसा न्यूनीकरणमा उनले महत्वपूर्ण भूमिका खेलेकी छन्। मानव बेचबिखन, घरेलु हिंसा, मानसिक तथा शारीरिक यातनाबारे आएको उजुरीमा तत्कालिक उद्धार, सुरक्षित बसोबास, स्वास्थ्य सेवा र खाद्यान्नको व्यवस्था गर्न उनले विभिन्न संघ–संस्थासँग निरन्तर समन्वय गरेकि छिन् ।

उनले कार्यालय अभिलेख व्यवस्थापनदेखि उजुरीको फछ्यौट प्रक्रियासम्म डिजिटल प्रणालीको प्रयोग बढाउँदै प्रशासनिक सुधारमा पनि उल्लेखनीय योगदान दिएकी छन्। ‘क्विक रिस्पोन्स सिस्टम’ सक्रिय गरेर जोखिममा परेका महिलाको बेलाबेला उद्धार गर्नु उनको दैनिकी नै बनेको छ।
प्रसनी रागनीसँगै असई शान्ता खत्री द्वितीय, हवलदार उमा तामाङ तृतीय सम्मानबाट विभूषित भएका छन् भने प्रहरी नायब निरीक्षक पूर्णिमा थापा र असई साजना प्रसाई पनिसान्त्वना पुरस्कारबाट सम्मानित भएका छन् ।
नेपाल प्रहरीले पीडित–केन्द्रित सेवा प्रवाहमा अतुलनीय योगदान पुर्‍याउने उद्देश्यले गरेको यो सम्मानले प्रहरी संगठनमा कार्यरत महिला कर्मचारीहरूलाई थप उत्साहित बनाएको छ। समर्पण, पेशागत निष्ठा र मानवीय भावनाले उनलाई वास्तवमै ‘सर्वोत्कृष्ट प्रहरी’का रूपमा उभ्याएको देखिन्छ ।

प्रकाशित मिति: २०२५-१२-०१ , समय : १४:४७:५६ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित