सिरहामा १८ वर्षीया किशोरीको बलात्कारपछि हत्या : १६ दिन बित्दा पनि पत्ता लागेन हत्यारा
मिति: २०२५-१२-२३ , समय : २०:०८:४३ , गामघर डेस्क
मिति: २०२५-१२-२३ , समय : २०:०८:४३ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
सिरहा । मधेस प्रदेशको सिरहाको कर्जन्हा नगरपालिकामा भएको विभत्स घटनामा संलग्नहरु अझै पक्राउ पर्न नसक्दा राज्यको न्याय प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ। अति विपन्न तथा लप्तसङ्ख्यक समुदायकी १८ वर्षीया किशोरी अबिना दनुवार (काली)को बलात्कार पछि हत्या भएको घटनाको १६ दिन बितिसक्दा पनि दोषी पहिचान र पक्राउ नहुनुले राज्यको शासन प्रणालिमाथि प्रश्न खडा भएको हो।
यो घटनाले पीडित परिवार मात्र होइन, सिंगो समुदाय भयभित्त र आक्रोत छन्। गरिब, पहुँच विहीन भएकै कारण न्यायबाट वञ्चित हुनुपर्ने परिस्थित सृजना भईरहेको प्रति पीडित परिवार चिन्तत छन्। घटनाप्रति सवन्धति निकायको संवेदनहिनताले गहिरो प्रश्न उठाएको छ।
मंसिर २२ गते कर्जन्हा नगरपालिका १ बल्टियाकी सूर्यनाथ बैद्य (मुसहर)की १८ वर्षीया छोरी अबिना दनुवार (काली)को बलात्कार पछि निर्ममता पूर्वक हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। उनको शव कर्जन्हा नगरपालिका २ स्थित नेपाल फूलकुमारी महतो माध्यमिक विद्यालयको प्राङ्गण नजिकै झाडीमा फालिएको अवस्थामा भेटिएको थियो। शव भेटिएको स्थान इलाका प्रहरी कार्यालयको करिव तीनसय मिटरको दुरीमा छ।
बल्टियाकी स्थानीय पानवती कुवर भन्छिन, ‘घटना भएको दिनदेखि हामीले छोराछोरीलाई बाहिर निस्किन दिएका छैनौँ। आफैंलाई डर लाग्छ। कसले ग¥यो थाहा छैन, तर जसले गरे पनि दोषीलाई तत्काल पक्राउ गरेर कानुनी कारबाही हुनुपर्छ।’
परिवारका अनुसार अबिना मंसिर २२ गते साँझ करिब ८ बजे छिमेकीको घरमा मोबाइल चार्जमा राख्न जान्छु भन्दै घरबाट निस्केकी थिइन्। राति अबेरसम्म घर नफर्किएपछि परिवार र स्थानीयले खोजी सुरु गरेका थिए। तर भोलिपल्ट दिउँसो करिब १ बजमात्रे अबिनाको शव भेटिएको खबर परिवारलाई दिइयो।
घटना भएको आज १६ औँ दिन बितिसक्दा पनि दोषी पहिचान र पक्राउ नहुनु राज्य र प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न खडा भएको स्थानीय बताउँछन्। स्थानीयहरु भन्छन्, प्रहरीको नाकै सामुने शव फेला परेको छ। घटनाको १६ दिन वितिसक्दा पनि संलग्नहरु पहिचान नहुनु र पक्राउ नपर्नुले सन्देह पैदा गरेको छ।
पीडितकी आमा भन्छिन, ‘पापीहरुले छोरीलाई लुचेर नपुगेपछि हत्या गर्यो। घटनाको पनि आज १६ दिन बितिसक्यो, तर अहिलेसम्म प्रहरीले हत्यारा पक्रन सकेको छैन। हामी गरिब भएकै कारण छोरीले न्याय नपाउने हुन् की भन्ने चिन्ता बढ्दै गएको छ।’
उनले थपे, ‘हुनेखानेको घटनामा तुरुन्तै सुनुवाइ हुन्छ, हामीसँग पैसा छैन, पहुँच छैन। न प्रहरीले हाम्रो सुन्छ, न नेता, मन्त्री, सांसद कसैले हामीलाई गन्छ, मलाई त यो घटना त्यसै तुहाउने खेल सुरुभएजास्तो लाग्छ।’
बस्ने घरसमेत आफ्नै नभएका उनीहरु अधुरो सामुदायिक भवनमा पाल टाँगेर बस्दै आएका छन्।
तर केही स्थानीयले ‘हत्याकाण्डमा निमुखाहरुलाई फसाउन खोजेको’ बताएको छ।
घटना भएको तीन दिनसम्म कुनै सुनुवाई नभएपछि स्थानीले चौथो दिन पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बन्दिपुर अवरुद्ध गर्दै आन्दोलन गरेका थिए। आन्दोलनपछि प्रहरी प्रशासन, जनप्रतिनिधि र आन्दोलनकारीबीच केही दिनभित्र दोषी पक्राउ गरी कारबाही गर्ने सहमति भएको थियो।
सहमति भएको १२ दिन बितिसक्दा पनि कुनै ठोस प्रगति नदेखिएको भन्दै स्थानीय महिला अधिकारकर्मी र युवाहरू आक्रोशित छन्। उनीहरले अब दुई–तीन दिनभित्र दोषी पक्राउ गरी सार्वजनिक गरिएन भने फेरि आन्दोलनमा जाने चेतावनी दिएका छन्।
घटनाको १६ दिन बितिसक्दा पनि दोषी पत्ता नलगाउनु प्रहरीको गम्भीर कमजोरी रहेको उनीहरुको आरोप रहेको छ।
‘निर्दोषलाई समातेर दुःख दिने तर वास्तविक अपराधीलाई पहिचान गर्न नसक्नु प्रहरीको असफलता हो। कतै जनप्रतिनिधि, मन्त्री, सांसदको दबाबमा दोषी जोगाउने प्रयास त भइरहेको छैन?’ उनीहरुले शङ्का व्यक्त गरे।
यस विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अनन्तराम शर्माले प्रतिक्रिया दिन मानेनन्। अनुसन्धान भइरहेको छ, भन्दै थप जानकारी दिन अस्वीकार गरे।
तर प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले प्रहरीको बचाउन गर्दै भने, ‘प्रहरी निरीह छैन, मैले थाहा पाए अनुसार घटनाको धेरै नजिक पुगिसकेको छ। छिट्टै दोषी पक्राउ गरी कानुनी कारबाही हुन्छ। यसमा सवैले विश्वास गरौँ।’
तर प्रश्न अझै उस्तै छ। घटनाको १६ दिन बितिसक्दा पनि हत्यारा किन खुला छन?
के गरिब भएकै कारण न्याय ढिलो हुन्छ? राज्यले कहिले कहिले सवै नागरिकलाई समान व्यवहार गर्छ?
प्रकाशित मिति: २०२५-१२-२३ , समय : २०:०८:४३ , 4 hours अगाडि