मधेस प्रदेशको जनकपुरधाममा फस्टाउँदै हुण्डी कारोबार : कालोधन, कमजोर निगरानी र राज्य संयन्त्रको परीक्षा

मिति: २०२६-०१-०४ , समय : १४:४४:२५ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

जनकपुरधाम। मधेस प्रदेशको धनुषाको सदरमुकाम जनकपुरधाममा पछिल्लो समय हुण्डीमार्फत हुने अवैध आर्थिक कारोबार तीव्र रूपमा बढ्दै गएको पाइएको छ। प्रहरीले पटक–पटक हुण्डी कारोबारी पक्राउ गरी लाखौँदेखि करोडौँ रुपैयाँसम्म नगद बरामद गरे पनि यो अवैध कारोबार नियन्त्रणमा आउन नसकेको देखिन्छ।खुला सीमा, अनौपचारिक अर्थतन्त्रको प्रभुत्व, कमजोर निगरानी र निकायहरूबीच समन्वयको अभावका कारण जनकपुरधाम हुण्डी कारोबारको केन्द्र बन्दै गएको सरोकारवालाहरूको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय धनुषा तथा मधेश प्रदेश प्रहरी कार्यालयले पछिल्ला महिनाहरूमा हुण्डी कारोबारविरुद्ध विशेष अपरेसन सञ्चालन गर्दै आएका छन्। विभिन्न स्थानबाट हुण्डी कारोबारी पक्राउ परेका छन् भने ठूलो परिमाणमा नगद, मोबाइल, डायरी र कारोबारको विवरणसमेत बरामद गरिएको छ।
तर प्रहरीकै तथ्यांकले पनि पक्राउ र बरामदको क्रम बढे पनि हुण्डी कारोबारको जालो अझै फैलिँदै गएको संकेत गर्छ। एक प्रहरी अधिकारीका अनुसार, पक्राउ परेका अधिकांश व्यक्ति “एजेन्ट” मात्र हुने गरेका छन्।“मुख्य लगानीकर्ता र नेटवर्क सञ्चालकसम्म पुग्न कठिन भइरहेको छ,” ती अधिकारीले भने, “एउटा समूह समातिँदा अर्को सक्रिय भइसकेको हुन्छ।”
अर्थविद् र कानुनविद्हरूका अनुसार हुण्डी अब सामान्य अनौपचारिक रकम स्थानान्तरणको माध्यम मात्र नभई कालोधनको कारोबार, कर छलि, तस्करी र सम्पत्ति शुद्धीकरणसँग प्रत्यक्ष रूपमा जोडिएको अपराध बनेको छ।जनकपुरधाममा सक्रिय हुण्डी सञ्जालहरू प्रायःभारतसँगको सीमापार कारोबार , वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्स , अवैध आयात–निर्यात , ठूला नगद व्यापारिक लेनदेन र सँग गाँसिएको देखिन्छ।
जनकपुरधाम भारतको सीमावर्ती क्षेत्र भएकाले यहाँ मानिस र पैसाको आवत–जावत सहज छ। खुला सीमाका कारण नगद ओसार–पसारमा प्रभावकारी निगरानी हुन नसकेको सुरक्षा निकाय स्वीकार गर्छन्।स्थानीय बजारमा अझै पनि नगद कारोबारको चलन बढी रहेको, बैंकिङ प्रक्रिया झन्झटिलो ठानिने र छिटो रकम स्थानान्तरणका लागि हुण्डी रोज्ने प्रवृत्ति बलियो रहेको पाइन्छ।
हुण्डी कारोबारले राज्यको राजस्व प्रणालीमा प्रत्यक्ष नकारात्मक असर पारिरहेको छ। औपचारिक बैंकिङ प्रणाली बाहिर हुने कारोबारले आयकर, भन्सार महसुल र मूल्य अभिवृद्धि कर (ख्ब्त्) छलिने अवस्था सिर्जना गरेको छ।राजस्व विज्ञहरूका अनुसार, सीमावर्ती क्षेत्रमा हुण्डीको प्रयोग बढ्दा राज्यको आम्दानी घट्नुका साथै औपचारिक अर्थतन्त्र कमजोर बन्दै जान्छ।
नेपाल राष्ट्र बैंकले हुण्डी नियन्त्रणका लागि बैंक तथा वित्तीय संस्थाको निगरानी, रेमिट्यान्स कम्पनीहरूको अनुगमन र शंकास्पद कारोबार रिपोर्टिङ प्रणाली लागू गरेको छ। तर जनकपुरधामजस्ता क्षेत्रमा अनौपचारिक अर्थतन्त्र बलियो हुँदा राष्ट्र बैंकको प्रभावकारी उपस्थिति कमजोर देखिन्छ।विज्ञहरू बैंकिङ पहुँच विस्तार, डिजिटल भुक्तानी प्रवद्र्धन र वित्तीय साक्षरता अभिवृद्धि नगरी हुण्डी नियन्त्रण सम्भव नहुने बताउँछन्।
हुण्डी कारोबार सम्पत्ति शुद्धीकरणसँग गहिरो रूपमा जोडिएकाले राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। तर यी निकायहरूको उपस्थिति र सक्रियता स्थानीय तहमा प्रभावकारी देखिएको छैन।एक कानुनविद्का अनुसार,“नगद बरामद गरेर मात्र मुद्दा टुंगिँदैन। पैसाको स्रोत, प्रयोग र अन्तिम लाभार्थी पत्ता लगाउन गहिरो अनुसन्धान आवश्यक छ।”
प्रहरी, भन्सार, नेपाल राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागबीच सूचना आदान–प्रदान र संयुक्त अनुसन्धानको कमी रहेको गुनासो व्यापक छ। यसले हुण्डी सञ्जाल भत्काउन कठिन बनाएको बताइन्छ।
स्थानीयस्तरमा हुण्डी कारोबारमा प्रभावशाली व्यक्ति र ठूला कारोबारीको संलग्नता रहेको चर्चा पनि सुनिन्छ। राजनीतिक पहुँच भएका व्यक्तिहरू संलग्न हुँदा अनुसन्धान कमजोर हुने आशंका व्यक्त गरिँदै आएको छ। यद्यपि सम्बन्धित निकायहरूले राजनीतिक दबाब अस्वीकार गर्दै आएका छन्।
हुण्डी नियन्त्रणका लागि बैंकिङ तथा डिजिटल सेवा विस्तार , सीमापार सहकार्य , कडा कानुनी कार्यान्वयन , अन्तर–निकाय समन्वय , जनचेतना अभिवृद्धि र जस्ता उपायहरू तत्काल अपनाउन आवश्यक छ।
जनकपुरधाममा फस्टाउँदै गएको हुण्डी कारोबारले राज्यको आर्थिक अनुशासन, राजस्व प्रणाली र वित्तीय सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। प्रहरीले गर्ने पक्राउ र बरामदले समस्या समाधान नहुने स्पष्ट देखिएको छ।नेपाल राष्ट्र बैंकदेखि राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागसम्मको सक्रिय, समन्वित र दीर्घकालीन रणनीति बिना हुण्डी नियन्त्रण असम्भव देखिन्छ। नव जनप्रहारबाट

प्रकाशित मिति: २०२६-०१-०४ , समय : १४:४४:२५ , 2 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित