मोेरङमा खुल्यो तस्करीको जालो : इन्जिनदेखि गिट्टी–बालुवा, कपडादेखि कवाडीसम्म खुला ओसारपसार
मिति: २०२६-०१-१९ , समय : ०९:३३:५७ , गामघर डेस्क
मिति: २०२६-०१-१९ , समय : ०९:३३:५७ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
विराटनगर । नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै कोशी प्रदेशको मोेरङ जिल्लाको रानी नाका आसपासका क्षेत्रहरू अहिले संगठित तस्करीको अखडामा रूपान्तरण हुँदै गएका छन्। सीमाको सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरी बलकै संरक्षण र सेटिङमा दरैया र अमरडुवा क्षेत्रबाट व्यापक तस्करी भइरहेको तथ्य बाहिरिएको छ। कवाडीको नाममा गाडीका इन्जिन, बियरका क्यान, आल्मुनियम, तामा, पित्तल, प्लास्टिकका प्याड बोतलदेखि लिएर गिट्टी–बालुवासम्म खुलेआम भारततर्फ पठाइँदैछ भने भारतबाट कपडालगायतका सामान नेपाल भित्र्याइँदैछ।
रानी नाकाबाट दरैयातर्फ तस्करीको ‘सिफ्ट’
यसअघि रानी नाकाबाटै खुलेआम हुने तस्करीले हल्ला र बदनामी बढ्न थालेपछि कारोबारीहरूले रणनीति बदलेका छन्। रानी नाकाबाट झण्डै तीन किलोमिटरको दूरीमा रहेको दरैया बिओपी र अमरडुवा क्षेत्र अहिले तस्करीका नयाँ केन्द्र बनेका छन्। यहाँबाट हुने तस्करी कम देखिने, कम हल्ला हुने र ‘सेटिङ’ सहज हुने भएपछि कारोबारीहरू यतै केन्द्रित भएको स्थानीयवासीहरू बताउँछन्।
स्थानीय स्रोतका अनुसार दरैया र अमरडुवाबाट रातको समयमा मात्रै होइन, दिनदहाडै पनि ट्रयाक्टर, साना गाडी र साइकलमार्फत सामान सीमा कटाइन्छ। सशस्त्र प्रहरी बलको उपस्थिति हुँदाहुँदै समेत तस्करी निर्बाध रूपमा चल्नुले सुरक्षा संयन्त्रको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।
नरेश यादव ः तस्करीको ‘लाइन’ सम्हाल्ने पात्र
दरैयाका नरेश यादव अहिले मोेरङ–भारत सीमामा चलिरहेको तस्करीको मुख्य पात्रका रूपमा चिनिएका छन्। स्थानीयका अनुसार सशस्त्र प्रहरी बलले नै तस्करीको ‘लाइन’ नरेश यादवलाई दिएको छ। नरेशले दरैया र अमरडुवाका बस्ती, उखुवारी क्षेत्रबाट कवाडी, गिट्टी र बालुवा संकलन गरी बखरी हुँदै बसपार्क निस्कने र त्यसपछि सीमा कटाउने काम गर्दै आएका छन्।
नरेश यादवको नाममा दर्ता भएको को २ ए ५४५८ नम्बरको ट्रयाक्टर तस्करीको मुख्य साधन बनेको छ। यही ट्रयाक्टरबाट नेपालबाट गिट्टी–बालुवा भारत पठाइन्छ भने फर्कँदा भारतबाट कपडालगायतका सामग्री नेपाल ल्याइन्छ। स्थानीयहरूका अनुसार ट्रयाक्टर दिनमा एकभन्दा बढी पटक सीमा ओहोरदोहोर गर्ने गर्छ।
भारतीय साझेदार ः अरूण, बरूण र तरूण
नरेश यादवको तस्करी सञ्जाल केवल नेपालमै सीमित छैन। भारततर्फ जोगवनी घर भएका अरूण, बरूण र तरूण नामका तीन भारतीय नागरिक उनका मुख्य साझेदार भएको खुलेको छ। यी तीनै जना नरेश यादवबाट नेपालबाट पठाइएका सामान भारतमा व्यवस्थापन गर्ने र भारतबाट आउने अवैध सामानको ढुवानी मिलाउने काममा संलग्न छन्।
स्थानीय स्रोतका अनुसार यीमध्ये कुनै एक जना बिहान १० बजेदेखि साँझसम्म रानी नाका, विराटनगर आसपासमै बसेर कारोबारको सेटिङ मिलाइरहेको देखिन्छ। सीमामा कुन समयमा चेकिङ कडा छ, कहाँ ढिलाइ छ, कुन बाटो सुरक्षित छ—सबै सूचना यिनैमार्फत नरेश यादवसम्म पुग्ने गरेको बताइन्छ।
कवाडीको आवरणमा तस्करी
कवाडीको नाममा भइरहेको तस्करी सामान्य देखिए पनि यसको प्रकृति गम्भीर छ। गाडीका इन्जिन, बियरका क्यान, आल्मुनियम, तामा, पित्तल जस्ता धातुहरू ठूलो परिमाणमा भारत पठाइनुले नेपालको औद्योगिक कच्चा पदार्थ बाहिरिँदै गएको छ। यसले राज्यलाई ठूलो आर्थिक नोक्सानी मात्र होइन, दीर्घकालीन असर समेत पारिरहेको छ। 
त्यसैगरी गिट्टी–बालुवाको अवैध निकासीले स्थानीय वातावरणमा समेत गम्भीर प्रभाव परेको छ। खोलानाला, उखुवारी र बस्ती आसपासबाट जथाभावी गिट्टी–बालुवा निकालिँदा भू–क्षय, खेतीयोग्य जमिन नष्ट हुने र प्राकृतिक सन्तुलन बिग्रिने खतरा बढेको स्थानीयवासीहरूको गुनासो छ।
वडाध्यक्षको पत्र, प्रहरीको मौनता
अमरडुवा र दरैयाबाट भइरहेको गिट्टी–बालुवाको तस्करीबारे स्थानीय तहले पटक–पटक आवाज उठाउँदै आएको छ। स्थानीय वडाध्यक्ष उद्वव भुजेल ले दरैयास्थित सशस्त्र प्रहरी बिओपीका निरीक्षक शंकर प्रसाद कोइराला, रानीस्थित भन्सार गुल्मका डीएसपी तिलक खड्का र मोेरङस्थित गणका एसपी राजेश घिमिरे लाई व्यक्तिगत रूपमा फोन मात्र होइन, वडाको तर्फबाट औपचारिक पत्र नै पठाएर तस्करी रोक्न आग्रह गरेका थिए।
तर वडाध्यक्षको आग्रह बेवास्ता गरियो। तस्करी रोकिएन, उल्टै अझ बढ्यो। स्थानीय एक वडा सदस्यका अनुसार “पत्र पठाएपछि पनि कुनै प्रभाव परेन, बरु कारोबारीहरू झन् निडर भए।”
एआइजीको निर्देशन पनि बेअसर
मामला यतिमै सीमित रहेन। गत शुक्रबार सीमा सुरक्षा विभागका अतिरिक्त महानिरीक्षक (एआइजी) बंशीराज दाहाल ले फोनमार्फत एसपी घिमिरे र डीएसपी खड्कालाई तस्करी तत्काल रोक्न निर्देशन दिएका थिए। तर एआइजीको निर्देशनपछि पनि दरैया र अमरडुवाबाट तस्करी रोकिएको छैन।
यसले सशस्त्र प्रहरी बलभित्रै आदेश नमान्ने, माथिल्लो तहको निर्देशनलाई बेवास्ता गर्ने अवस्था रहेको संकेत गर्छ। यदि अतिरिक्त महानिरीक्षकको आदेशसमेत कार्यान्वयन हुँदैन भने सीमा सुरक्षाको अवस्था कति कमजोर छ भन्ने प्रश्न गम्भीर रूपमा उठ्छ।
सशस्त्र प्रहरीमाथि उठेको गम्भीर प्रश्न
सीमा सुरक्षा र चोरी–तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल नै तस्करी सुचारू गराउन लागेको आरोप लाग्नु सामान्य विषय होइन। यदि यी आरोप सत्य हुन् भने यो केवल केही व्यक्तिको भ्रष्टाचार नभई संस्थागत समस्या हो।
स्थानीय बासिन्दाहरू प्रश्न गर्छन् , “सीमा जोगाउने निकाय नै तस्करीको संरक्षक बनेपछि अब राज्यले कसको भर पर्छ ? कसलाई विश्वास गर्छ ?” 
राज्यको राजस्वमाथि डकैती
तस्करीको प्रत्यक्ष असर राज्यको राजस्वमा पर्छ। भन्सार छलेर भारत पठाइने गिट्टी–बालुवा र धातुजन्य सामग्री तथा नेपाल भित्र्याइने कपडालगायतका सामानले सरकारलाई करोडौं रुपैयाँको नोक्सानी पु¥याइरहेको छ। यो नोक्सानी अन्ततः जनतामाथि नै करको भार बढेर फर्किने विज्ञहरूको भनाइ छ।
तस्करीविरुद्ध बोल्ने स्थानीयहरू डरमा बाँचिरहेका छन्। खुलेआम तस्करी रोक्न खोज्दा धम्की आउने, सामाजिक दबाब पर्ने र सुरक्षाकर्मीबाटै उपेक्षा हुने गरेको उनीहरूको अनुभव छ। यसले गर्दा धेरैले सत्य थाहा हुँदाहुँदै पनि मौन बस्न बाध्य भएका छन्।
दरैया र अमरडुवाबाट भइरहेको तस्करी यो केवल एउटा स्थानको मात्र होइन, देशभर फैलिएको खुला सीमाको यथार्थको प्रतिनिधि हो। यदि यस्ता घटनामा तुरुन्त छानबिन, दोषीमाथि कारबाही र संरचनागत सुधार गरिएन भने सीमा सुरक्षा केवल कागजमै सीमित हुनेछ।सरकार, गृह मन्त्रालय र सशस्त्र प्रहरी बलको नेतृत्वले अब गम्भीर निर्णय लिनुपर्ने समय आएको छ।
तस्करी रोक्ने कि तस्करीलाई नै व्यवस्था बनाउने ?यसको उत्तर खोज्ने जिम्मेवारी अब राज्यकै काँधमा छ। नव जनप्रहारबाट
प्रकाशित मिति: २०२६-०१-१९ , समय : ०९:३३:५७ , 3 hours अगाडि