हिन्दूहरूको महान पर्व महाशिवरात्री आज सप्तरी सहित मुलुकभर भव्यतापूर्वक मनाइयो

मिति: २०२६-०२-१५ , समय : २१:४५:४० , रबि शर्मा

तस्बिर : रबि शर्मा / गामघर टिभि

रबि शर्मा

हनुमाननगर । हिन्दूहरूको महान पर्व महाशिवरात्री आज भव्यतापूर्वक मनाइँदै छ। भगवान शिवप्रतिको आस्था व्यक्त गर्दै सप्तरी जिल्लाका विभिन्न शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ।

सदरमुकाम राजविराजस्थित हरिनन्देश्वर महादेव, शम्भुनाथस्थित शम्भुनाथ मन्दिर, धर्मपुरस्थित धर्मेश्वर महादेव मन्दिर, साथै घोघनपुर, महदेवा, लालापट्टी, कञ्चनपुर लगायतका शिवालयहरूमा विशेष पूजाआजा भइरहेको छ।

शिवरात्रीको अवसरमा हनुमाननगरमा रहेको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र ले आकर्षक झाँकी प्रदर्शन कार्यक्रम आयोजना गरेको छ।

धर्मपुर–८ स्थित भीरमा रहेको धर्मेश्वर महादेव मन्दिरमा हरेक वर्ष हजारौं श्रद्धालु भक्तजनहरूले पूजापाठ गर्ने गर्दछन्। महाशिवरात्रीका अवसरमा यहाँ भव्य मेला समेत लाग्ने गर्दछ। धारापानी स्थल नजिकै अवस्थित यस मन्दिरलाई पर्यटकीय दृष्टिकोणले पनि अत्यन्त सुन्दर मानिन्छ। यहाँ धर्मपुरसहित रुपनगर, कञ्चनपुर, बदगामा, बरमझिया, ठेलिया, घोघनपुर, जगतपुर र बकधुवा लगायतका क्षेत्रका बासिन्दाहरू पूजाआजा तथा मेला भर्न आउने गर्दछन्।


त्यसैगरी रुपनगर–३ स्थित त्रिमार्ग शिवालय मन्दिर, घोघनपुर बलुवास्थित भजनेश्वर महादेव तथा कञ्चनपुर–६ स्थित शिवालय मन्दिरमा पनि भक्तजनहरूको बाक्लो उपस्थिति रहेको छ।

भगवान शिव (शंकर) र पार्वतीको विवाहको स्मरणमा यो पर्व मनाइने धार्मिक परम्परा रहेको छ। यस दिन भक्तजनहरूले उपवास बस्ने, रात्रि जागरण गर्ने तथा शिवलिङ्गमा जल, बेलपत्र र धतुरो अर्पण गर्ने प्रचलन छ।

प्रकाशित मिति: २०२६-०२-१५ , समय : २१:४५:४० , 2 months अगाडि