प्रेमको मूल्य मृत्यु ! धनुषामा १९ वर्षीय युवकको घाँटी रेटेर हत्या, प्रेमिकासहित तीन पक्राउ

मिति: २०२६-०२-२८ , समय : ०८:४०:०५ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको धनुषामा प्रेम सम्बन्धकै कारण एक १९ वर्षीय युवकको निर्मम हत्या भएको घटना सार्वजनिक भएको छ। औरही गाउँपालिका–६ स्थित खेतमा बिहीबार दिउँसो ४ बजे मृत अवस्थामा फेला परेका हंसपुर नगरपालिका–९ रुदौलीका सुमित मण्डलको हत्या प्रेम सम्बन्धका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

मण्डलको शव घाँटी अगाडिबाट धारिलो हतियार प्रयोग गरी रेटिएको अवस्थामा फेला परेको थियो। शरीरका विभिन्न भागमा कुटपिटका गम्भीर चोटसमेत देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। घटनास्थलको प्रकृति हेर्दा हत्या अत्यन्त योजनाबद्ध र क्रूर तरिकाले गरिएको प्रहरीको अनुमान छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई सार्वजनिक गरेको छ। प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरका अनुसार मृतक सुमित मण्डलको हंसपुर–६ बस्ने १७ वर्षीया काजलकुमारी मण्डलसँग करिब एक वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ।

प्रहरीका अनुसार बुधबार काजलको घरमा परिवारका अन्य सदस्य नभएको मौका पारेर सुमित उनलाई भेट्न गएका थिए। सुमित घरभित्र प्रवेश गरेपछि काजलका काका २९ वर्षीय परमेश्वर मण्डलले थाहा पाएका थिए। त्यसपछि उनले सुमितलाई नियन्त्रणमा लिई काजलका दाजु २० वर्षीय दिपेशकुमार मण्डललाई बोलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

दुवै जनाले मिलेर सुमितका हात पछाडिबाट डोरी र गम्छाले बाँधी निर्घात कुटपिट गरेका थिए। कुटपिटका क्रममा सुमित गम्भीर घाइते भएका थिए। त्यसपछि उनीहरूले सुमितलाई मोटरसाइकलमा राखी करिब डेढ किलोमिटर टाढा रहेको खेतमा लगेका थिए।

खेतमा लगेर धारिलो हतियार (खुकुरी) प्रयोग गरी सुमितको घाँटी रेटेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको एसपी कुँवरले जानकारी दिए। हत्या पछि आरोपीहरू घटनास्थलबाट फरार भएका थिए।

स्थानीयले खेतमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाउनासाथ खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाई अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले हत्या गर्न प्रयोग गरिएको खुकुरी, घटनामा प्रयोग भएको मोटरसाइकल तथा बाँध्न प्रयोग गरिएको सामग्रीसमेत बरामद गरेको छ। बरामद सामग्रीलाई परीक्षणका लागि प्रयोगशालामा पठाउने तयारी भइरहेको छ।

प्रहरीका अनुसार घटनाको मुख्य कारण प्रेम सम्बन्धप्रति परिवारको असहमति र त्यसबाट उत्पन्न आक्रोश रहेको देखिएको छ। प्रारम्भिक बयानका आधारमा घटनाको योजनाबद्ध रूपमा तयारी गरिएको आशंका गरिएको छ। यद्यपि विस्तृत अनुसन्धानपछि मात्र सम्पूर्ण तथ्य बाहिर आउने प्रहरीले जनाएको छ।

मृतक सुमितका परिवारजनले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। घटनापछि स्थानीय क्षेत्र शोकमग्न बनेको छ भने युवाको ज्यान जाने गरी भएको यस्तो क्रूर घटनाले समाजमा पुनः अन्तरजातीय तथा पारिवारिक मान्यताका नाममा हुने हिंसाबारे प्रश्न उठाएको छ।

पक्राउ परेका काजलकुमारी मण्डल, दिपेशकुमार मण्डल र परमेश्वर मण्डलविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: २०२६-०२-२८ , समय : ०८:४०:०५ , 2 months अगाडि