कोशी प्रदेश : उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते
मिति: २०२६-०३-१७ , समय : ०८:५५:१५ , गामघर डेस्क
मिति: २०२६-०३-१७ , समय : ०८:५५:१५ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
उदयपुर । आइतबार साँझ आएको हावाले उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् ।
इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक टिनको छाना र काठले बनेको खाजा घरमा वर्षासँगै आएको हावाले सुकेको सालको रुख ढल्दा चौधरीको मृत्यु भएको हो ।सोही घटनामा रुखले किचेर ५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ४ वर्षीया बिनिशा चौधरी, कटारी नगरपालिका–५ आहालेडाँडा बस्ने २७ वर्षीय युवराज कार्की, कटारी नगरपालिका–५ बलाहा बस्ने ४६ वर्षीय लीला बहादुर दनुवार, सोही स्थानका ४६ वर्षीय प्रेमचन्द्र दनुवार तथा कटारी नगरपालिका–१२ बसेरी बस्ने १६ वर्षीया अस्मिता परियार रहेका छन् । उनीहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ।घटनामा घाइते भएकी ४ वर्षीया बालिका बिनिशा चौधरीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा करिब ४० मिनेटपछि उद्धार गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए ।
यस्तै कटारी नगरपालिका–८ की मिनामाया तामाङ घरमा खसी–बाख्रा सार्ने क्रममा हावाले भाँचको रुखको हाँगाले लागेर गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी ल्याइए पनि चिकित्सकले राति ९:१० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यता घाइतेमध्ये टाउकोमा गम्भीर चोट लागेका कटारी नगरपालिका–५ बलाहा बस्ने ४६ वर्षीय लीलाबहादुर दनुवारलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक दोङले बताए ।
प्रकाशित मिति: २०२६-०३-१७ , समय : ०८:५५:१५ , 4 hours अगाडि