सप्तरी सहित मिथिलाञ्चलमा आजदेखि चैती छठ पर्व शुरु

मिति: २०२६-०३-२२ , समय : १४:५३:२७ , गामघर डेस्क

तस्वीर : सामाजिक सञ्जालबाट

गामघर डेस्क

राजविराज । मिथिलाञ्चलमा आजदेखि विधिवत्रूपमा चैती छठ पर्व शुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत सम्पूर्ण मिथिलाञ्चलभरि धार्मिक विधिपूर्वक शुरु भएको हो ।

चैती छठ विभिन्न पोखरी, तलाउ तथा नदी किनारमा धुमधामका साथ मनाउने गरिन्छ । छठमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने चैती छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्छ ।

चार दिनसम्म मनाइने चैती छठको पहिलो दिन (आज) आइतबार व्रतालुले नहाःखा अर्थात् नुहाएर खाने गर्छन् । पर्वको दोस्रो दिन (भोलि) सोमबार खर्ना दिनभर उपवास बसेर मनाइन्छ । राति छठ देवतालाई पूजा गर्ने अनि अरवा अरबाईन (बिना नुन हालेको) खानेकुरा खाने चलन छ ।

त्यस्तै, षष्ठीका दिन अर्थात् (मङ्गलबार) बेलुका गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान पिसान गरी त्यसबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठेकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मूला, गाँजर, माटोको हात्ती, ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्ने गर्छन् ।

त्यसको भोलिपल्ट अर्थात बुधबार बिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्‍याई प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ दिई चैती छठ पर्व सम्पन्न गर्ने चलन छ ।

प्रकाशित मिति: २०२६-०३-२२ , समय : १४:५३:२७ , 4 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित