मधेस प्रदेश : सिरहा कारागारमा पुनः तनाव ,२२ कैदी नियन्त्रणमा

मिति: २०२६-०४-२१ , समय : १२:२१:४७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सिरहा । मधेस प्रदेशको सिरहा कारागार पुनः विवाद सृजना भएको छ । कारागारभित्र आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास गरेको आरोपमा २२ जना कैदीलाई प्रहरीले आज विहान नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रमेश बहादुर पालले दुई दिनअघि कारागारका चौकीदार प्रेम चौधरीलाई जबरजस्ती बाहिर निकाल्दै केही कैदीले आन्तरिक व्यवस्थापन आफ्नो नियन्त्रणमा लिन खोजेको बताए । उक्त घटनापछि सम्भावित थप झडप र असुरक्षा सृजना हुन सक्ने भन्दै २२ जना कैदीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको डिएसपी पालले बताए । उनका अनुसार नियन्त्रणमा लिइएका कैदीहरूबारे आवश्यक कानुनी प्रक्रिया र प्रशासनिक निर्णय सम्बन्धित निकायको निर्देशन अनुसार अघि बढाइनेछ ।
सिरहा कारागारमा यसअघि पनि पटक–पटक विवाद, कुटपिट तथा आन्तरिक झडपका घटनाहरू हुँदै आएको छ । कैदीबीचको गुटबन्दी, व्यवस्थापनमा कमजोरी र कारागार सुरक्षामा खटिएका सुरक्षाकर्मीको मिलोमतोकै कारण बारम्बार तनाव उत्पन्न हुने गरेको छ ।

यस अघि माघ २६ मा संयुक्त सुरक्षा निकायले कारागार भित्र सर्च गर्दा कटुवा पेस्तोल र २ राउन्ड गोली फेला परेको थियो । सो कटुवा तात्कालिक चौकीदार भन्दै आन्तरिक प्रशासनमा बलियो पकड बनाएका इन्द्रजित यादवले राखेका थिए । सर्च अप्रेसनकै क्रममा सेना सहितको सुरक्षाकर्मीको संयुक्त टोलीले यादव सहित १३ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई अन्य कारागारमा सारिएको छ । ईन्द्रजितलाई कारागारवाट नियन्त्रणमा लिएपछि कैदीबन्दीले २ दिन विरोध प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: २०२६-०४-२१ , समय : १२:२१:४७ , 4 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित