सप्तरीमा गाउँपालिका स्तरीय कृषि तथा पोषण मेला प्रदर्शनी
मिति: २०२६-०५-१३ , समय : ०६:२६:१५ , गामघर डेस्क
मिति: २०२६-०५-१३ , समय : ०६:२६:१५ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
राजविराज ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित चाँदनी बजारमा मंगलबार कृषि तथा पोषण मेला प्रदर्शनी आयोजना गरिएको छ । केयर नेपालको सहयोग र अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको सहकार्यमा राष्ट्रिय कृषक महासंघ नेपाल गाउँपालिका समितिद्वारा संचालित पोषण परियोजनाले कृषि तथा पोषण मेला प्रदर्शनी गरेको हो ।
मेलामा अग्नीसाइर कृष्णासवरन गाउँपालिका अन्तर्गत विभिन्न वडाका कृषकहरुले उत्पादन गरेको अर्गानिक कृषि उपज तथा पोषण सुरक्षाका लागि आवश्यक कृषि उत्पादनहरु प्रदर्शनीमा राखिएको थियो । 
राष्ट्रिय कृषक समूह महासंघ अग्नीसाइर कृष्णासव्रन गाउँपालिकाद्वारा आयोजित मेलामा पालिकामा क्रियाशिल २९ वटा महिला कृषक समुहले उत्पादन गरेको तरकारी, दलहन, अन्नसहित कृषि उपज मेलामा प्रदर्शनी गरिएको राष्ट्रिय कृषक समुह महासंघ नेपालका कृषि तथा बजारीकरण अधिकृत संजय कुमार पण्डितले बताउनु भयो ।
मेलामा फर्सी,लौका,घिरौला,बोडी,भिन्टी,गोलभेडा, तिते करेलो, गाँजर,परवल,खुर्सानी,मकै,विभिन्न प्रजातिका सागपात, कुरनी,लसुन, प्याज, केरा,लिची, आँप, कागती,पिँडालु, मुसुरो,मटर, लहर दाल, चामल, गहुँ, मकै, गड्यौला मल, लगायतका कृषि उपज तथा अण्डा, स्याउ, अंगुर, आयोनुन सहितका पोषण सामाग्री प्रदर्शनीमा राखिएको उहाँले बताउनु भयो ।
राष्ट्रिय कृषक समूह महासंघ नेपाल अग्नीसाइर कृष्णासव्रन गाउँपालिकाका अध्यक्ष रमानन्द चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदर्शनीमा सहभागी प्रथम, दोश्रो र तेस्रो स्थान प्राप्त गर्ने तथा उत्कृष्ट कृषक समुहलाई गम्छा ओढाएर सम्मानसहित पुरस्कार स्वरुप मायाको चिनो प्रदान गरिको थियो ।
अग्नीसाइर कृष्णासव्रन गाउँपालिका २ स्थित चाँदनी बजारमा आयोजित उक्त प्रदर्शनी मेलामा गाउँपालिका कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रकुमार यादव, वडाध्यक्षहरु सवजुल खलिफा, पशुपति प्रसाद चौधरी, गोपाल प्रसाद चौधरी, राष्ट्रिय कृषक समुह संघकी केन्द्रीय सदस्य सुमित्रा देवी चौधरी, पत्रकार बृजमान तामाङ, लगायतको उपस्थिति थियो ।
प्रकाशित मिति: २०२६-०५-१३ , समय : ०६:२६:१५ , 3 hours अगाडि