मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादवकाे पद खारेज : सरकारविरुद्ध गतिविधि गरेको आरोप

मिति: २०२६-०५-१५ , समय : १२:३९:४० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेश प्रदेश सरकारले मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश कुमार यादवलाई पदबाट हटाएको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयले सोमबार यादवलाई कार्यवाहक अध्यक्षसहित बोर्ड सदस्य पदबाट समेत पदमुक्त गरेको जनाएको छ ।

मन्त्रालयका अनुसार यादवले पदीय मर्यादा र कानुनी दायित्वविपरीत गतिविधि गरेको, प्रदेश सरकारविरुद्ध सक्रिय रहेको तथा मिडिया काउन्सिलको कार्यालयमा राखिएको बोर्डबाट ‘मधेश प्रदेश सरकार’ र ‘गृह, सञ्चार तथा कानुन मन्त्रालय’ उल्लेख हटाएको पाइएपछि कारबाही गरिएको हो ।

केही साताअघि जनकपुरधामस्थित पूर्वाधार विकास कार्यालय धनुषामा यादवकै नेतृत्वमा तालाबन्दी गरिएको विषयमा मन्त्रालयमा गुनासो परेको थियो । त्यसपछि मन्त्रालयले उनीसँग स्पष्टीकरण सोधेको थियो । कार्यालयको बोर्डबाट मन्त्रालय र प्रदेश सरकारको नाम हटाइएको विषयमा पनि यादवसँग पटक–पटक स्पष्टीकरण मागिएको थियो ।

तर चित्तबुझ्दो जवाफ नआएपछि उनलाई पदमुक्त गरिएको गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले बताए । उनका अनुसार यादवले पदीय जिम्मेवारीअनुसार व्यवहार नगरी प्रदेश सरकारविरुद्ध गतिविधिमा संलग्नता देखाएका थिए ।

मिडिया काउन्सिल मधेश प्रदेशमा अब नेपाल पत्रकार महासंघ मधेश प्रदेशका एक पदेन सदस्यसहित चार सदस्य रहेका छन् । यसअघि काउन्सिलका अध्यक्ष कमल उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा अभियोग लगाएपछि पदमुक्त भएका थिए । त्यसपछि यादवले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रकाशित मिति: २०२६-०५-१५ , समय : १२:३९:४० , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्