नेपाल–भारत मैत्री संघद्वारा सप्तरीको बभनगामाका अग्निपीडित परिवारलाई राहत वितरण
मिति: २०२६-०५-१७ , समय : २१:१४:२९ , गामघर डेस्क
मिति: २०२६-०५-१७ , समय : २१:१४:२९ , गामघर डेस्क
तस्बिर : नवीन यादवको सहयोगमा
गामघर डेस्क
सप्तरी । नेपाल–भारत मैत्री संघ केन्द्रीय कार्यालयको सहयोग तथा नेपाल–भारत मैत्री संघ जिल्ला शाखा सप्तरीको समन्वयमा तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ६ बभनगामा टोलका अग्निपीडित १२ परिवारलाई आईतवार राहत सामग्री वितरण गरिएको छ।
नेपाल–भारत मैत्री संघ जिल्ला शाखा सप्तरीका अध्यक्ष मनोज कुमार मुन्धडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघकी केन्द्रीय सदस्य करुणा झा, छिन्नमस्ता अस्पतालका प्रतिनिधि दिपेन्द्र यादव, संघका उपाध्यक्ष ओमप्रकाश साह तथा पत्रकार एवं मानवअधिकारकर्मी नविन यादवलगायतको उपस्थिति रहेको थियो।
अग्निपीडित परिवारलाई राहतस्वरूप हन्डी, कराही, थाली, ग्लास, कर्छुल, छोलनी, कठौत, ससपेन, १२ पिस झुल तथा साडी वितरण गरिएको आयोजकले जनाएको छ। 
कार्यक्रममा बोल्दै नेपाल–भारत मैत्री संघकी केन्द्रीय सदस्य करुणा झाले विपद् तथा प्रकोपबाट जोगिन जनचेतना आवश्यक रहेको बताउँदै विद्युत् सुरक्षाप्रति सजग रहन आग्रह गरिन्। अध्यक्ष मनोज कुमार मुन्धडाले अग्निपीडित परिवारलाई थप राहत तथा सहयोग उपलब्ध गराउन संघ निरन्तर प्रयासरत रहने विश्वास व्यक्त गरे।
त्यसैगरी छिन्नमस्ता अस्पतालका प्रतिनिधि दिपेन्द्र यादवले अग्निपीडित परिवारलाई एक वर्षसम्म अस्पताल सेवामा २५ प्रतिशत छुट उपलब्ध गराउने प्रतिबद्धता जनाए। संघका उपाध्यक्ष ओमप्रकाश साहले पत्रकार तथा मानवअधिकारकर्मी नविन यादवले घटनाप्रति समयमै ध्यानाकर्षण गराएकै कारण पीडित परिवारसम्म सहयोगी हात पुग्न सकेको बताए।
अग्निपीडित रामअवतार यादवले आगलागी घटनाप्रति दुःख व्यक्त गर्दै घर पुनर्निर्माणका लागि आवश्यक खम्बा तथा अन्य सामग्री व्यवस्थापनमा सहयोग गरिदिन विभिन्न संघ–संस्था तथा सरोकारवालासँग अपिल गरेका छन्।
गत २०८३ साल वैशाख २६ गते साँझ करिब ७ बजे तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित स्थानीय रामअवतार यादवको घरछेउमा विद्युत् तार सर्ट भई अचानक आगलागी हुँदा आगोले भीषण रूप लिएको थियो। उक्त घटनामा ६ परिवारका घरमा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन्।
प्रकाशित मिति: २०२६-०५-१७ , समय : २१:१४:२९ , 14 hours अगाडि