मधेस प्रदेश : प्रहरी कार्यालय अगाडि तेस्रो लिंगीको अर्धनग्न विराेध प्रदर्शन
मिति: २०२६-०५-१९ , समय : ०७:३४:५८ , गामघर डेस्क
मिति: २०२६-०५-१९ , समय : ०७:३४:५८ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
जनकपुरधाम । पक्राउ परेका व्यक्तिलाई प्रहरीले छाड्नुपर्ने माग राख्दै सोमबार कलैयामा तेस्रो लिंगीहरूले विरोध प्रदर्शन गरेका छन् ।जिल्ला प्रहरी कार्यालय बाराको मूल गेट अगाडि विरोध प्रदर्शनमा उत्रिएका मध्ये ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कुटपिटमा संलग्न खुस्बु भनिने एकजना तेस्रो लिंगीलाई जिल्ला प्रहरी कार्यालय बाराले आइतबार नियन्त्रणमा लिएको थियो ।बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार कलैया उपमहानगरपालिका ५ का सरिफ मियाँ भाटको जाहेरी परेपछि ती व्यक्तिलाई प्रहरीले नियन्त्रण लिएको थियो ।एसपी कुँवरका अनुसार कुनै परिवारमा बच्चा जन्मिएपछि खुसियालीमा नाचगान गर्ने र त्यसबापत पैसा लिने गरेको भन्दै भाट समुदायका मानिसहरूमाथि तेस्रो लिंगीले कुटपिट गरेको जाहेरी परेको छ ।
तर तेस्रो लिंगीहरूले खुसियालीमा नाचगान गर्ने र दुवा बापतको पैसा पाउने काम आफूहरूको रहेकाले भाट समुदायले त्यसो गर्न नपाउने माग राखेका छन् ।
आफ्नो समुदायलाई प्रहरीले अनाहकमा पक्राउ गरेर मुद्दा चलाएको भन्दै तेस्रो लिंगीहरूले विरोध जनाएका हुन् ।सोमबार बिहान करिब आधाघण्टा जिल्ला प्रहरी कार्यालय बारा अगाडि विरोध प्रदर्शनमा उत्रिएका मध्ये कतिपय अर्धनग्न अवस्थामा समेत थिए । ती मध्य केहीले प्रहरी विरुद्ध नाराबाजी गर्दै जिल्ला प्रहरी कार्यालयको मूलगेट फोड्ने प्रयास गरेका थिए ।प्रहरीले ३ जनलाई नियन्त्रणमा लिएर बल प्रयोग गरी अवस्था साम्य पारेको थियो ।
प्रकाशित मिति: २०२६-०५-१९ , समय : ०७:३४:५८ , 4 hours अगाडि