मधेस प्रदेशकाे “सीमामा सुरक्षा कि सेटिङ ?” : सिरहाका नाकाबाट दिनदहाडै तस्करी सञ्जाल
मिति: २०२६-०६-०१ , समय : १६:२८:२७ , गामघर डेस्क
मिति: २०२६-०६-०१ , समय : १६:२८:२७ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
सिरहा । मधेश प्रदेशको सिरहा जिल्लाका सीमावर्ती नाकामा तस्करी नियन्त्रणको सरकारी दाबीमाथि फेरि गम्भीर प्रश्न उठेको छ। सुरक्षा निकायको बाक्लो उपस्थिति रहेको क्षेत्रमा नै करोडौँ मूल्य बराबरका मालवस्तु ओसारपसार भइरहेको खुलासासँगै सीमामा “सुरक्षा भन्दा सेटिङ बलियो” भएको आरोप चर्किएको छ।
शनिबार राति नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमावर्ती क्षेत्रबाट भारततर्फ तस्करी गर्न लागिएको मालसहित एउटा मिनीट्रक नियन्त्रणमा परेपछि सिरहाको संगठित तस्करी सञ्जाल फेरि चर्चामा आएको हो। स १ ख ५३५ नम्बरको मिनीट्रकमा अखरोट, कस्मेटिक्स तथा अन्य मालवस्तु लोड गरेर खेत सम्याएर बनाइएको वैकल्पिक बाटो हुँदै भारततर्फ लैजाँदै गर्दा दुई जनासहित ट्रक नियन्त्रणमा लिइएको थियो।
पक्राउ पर्नेमा नवराजपुर–५ निवासी राजेशकुमार यादव र आनन्द यादव रहेका छन्। बरामद मालवस्तुको मूल्य करिब ४० लाख रुपैयाँ आँकलन गरिएको छ। पक्राउ परेका व्यक्ति, ट्रक र मालवस्तु आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला भन्सार कार्यालय माडर बुझाइएको छ। भन्सार कार्यालयका प्रमुख प्रमोद दासका अनुसार घटनामा अनुसन्धान अधिकृत तोकेर थप अनुसन्धान अघि बढाइएको छ।तर स्थानीयले भने यो घटना “तस्करी नियन्त्रण” भन्दा पनि “सेटिङ नमिलेपछि समातिएको एउटा खेप” मात्र भएको दाबी गरेका छन्। 
स्थानीयका अनुसार उक्त क्षेत्र नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका कर्मचारीको निगरानीमा रहने संवेदनशील सीमा क्षेत्र हो। नवराजपुरमै प्रहरी निरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको क्याम्प छ भने नेपाल प्रहरीको पनि छुट्टै कार्यालय सञ्चालनमा छ। सीमामा नियमित गस्तीसमेत हुने गरेको छ।यस्तो अवस्थामा ठूलो परिमाणको मालवस्तु गोदाममा भण्डारण हुनु, ट्रकमै लोड हुनु र बोर्डरसम्म पुग्नुले सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठाएको स्थानीयको भनाइ छ।
एक स्थानीयले भने, “यो सामान्य तस्करी होइन, संगठित सञ्जालको काम हो। सीमा, सहर र पारिसम्म लाइन मिलाउने समूह सक्रिय छन्। सेटिङ नमिल्नेको माल समातिन्छ, मिलाउनेको सुरक्षित पार हुन्छ।”स्थानीयका अनुसार ट्रक समातिए पनि माल लोड गरिएको गोदाममा भने कुनै छापा नहुनुले थप आशंका जन्माएको छ। “यो पहिलो खेप थिएन, यसअघि पनि गएकै हो। अर्को खेपका लागि समेत माल भण्डारण थियो,” एक स्थानीयले बताए।
सिरहाको नवराजपुर, भगवानपुर लगायतका सीमावर्ती क्षेत्रबाट मदिरा, अखरोट, चिनियाँ स्याउ, कस्मेटिक्स तथा तेस्रो मुलुकका मालवस्तुको व्यापक तस्करी हुने गरेको स्थानीय बताउँछन्।कुसन्डी नाका क्षेत्रमा दिनभर सहरबाट मदिराले भरिएका गाडी पुग्ने र राति भरियामार्फत भारततर्फ पठाइने क्रम नियमितजस्तै रहेको आरोप छ। त्यस्तै, पारिबाट दैनिक उपभोग्य वस्तु, हार्डवेयर सामग्री तथा अन्य सामान तस्करीमार्फत नेपाल भित्रिने गरेको बताइन्छ।भगवानपुर गाउँपालिकाको गम्हरिया नाका हुँदै समेत मदिरा तस्करी हुने गरेको स्थानीयको दाबी छ। सीमावर्ती क्षेत्रका बासिन्दाका अनुसार वारिपारिका तस्कर समूहबीच बलियो समन्वय छ र यही सञ्जालमार्फत तस्करी सञ्चालन हुँदै आएको छ। 
स्थानीय व्यापारी र सीमावर्ती क्षेत्रका बासिन्दाले तस्करीमा सुरक्षा निकायका केही व्यक्ति, भन्सार तथा राजस्वसँग सम्बन्धित कर्मचारीसम्मको मिलेमतो हुने गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार दैनिक लाखौँ रुपैयाँ बराबरको राजस्व चुहावट भइरहेको छ।एक व्यापारीले नाम नखुलाउने सर्तमा भने, “सीमामा मात्रै होइन, सहरसम्म लाइन मिलाउन सक्नुपर्छ। सबै ठाउँमा सेटिङ मिल्यो भने माल आरामले पुग्छ। नमिले मात्रै समातिन्छ।”स्थानीयका अनुसार तस्करीमा संलग्न समूह अत्यन्त संगठित भएकाले सर्वसाधारण खुला रूपमा बोल्न समेत डराउने अवस्था छ। सीमावर्ती क्षेत्रमा तस्करीविरुद्ध बोल्ने व्यक्तिलाई धम्की आउने गरेको समेत आरोप छ। 
सिरहाका सीमावर्ती क्षेत्रमा पटक–पटक तस्करीका घटना सार्वजनिक भइरहे पनि मुख्य योजनाकार र सञ्जाल भने कानुनी दायरामा आउन सकेका छैनन्। साना भरिया वा चालक पक्राउ पर्ने तर तस्करी सञ्चालन गर्ने मुख्य गिरोह सुरक्षित रहने प्रवृत्तिले अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठाएको छ।स्थानीयको माग छ— पक्राउ परेका व्यक्ति र मालवस्तुमै सीमित नभई गोदाम, आर्थिक लगानीकर्ता, सुरक्षा संयन्त्रसँगको सम्भावित कनेक्सन र राजस्व चुहावटको सम्पूर्ण सञ्जालमाथि उच्चस्तरीय अनुसन्धान हुनुपर्छ।सीमामा तस्करी नियन्त्रणको सरकारी दाबी भइरहँदा सिरहाका नाकाबाट भने दिनदहाडै माल ओसारपसार भइरहेको स्थानीयको गुनासो छ। सुरक्षा घेराभित्रै तस्करी मौलाइरहेको यो घटनाले राज्य संयन्त्रको प्रभावकारिता मात्र होइन, सीमामा चलिरहेको सम्भावित “सेटिङ अर्थतन्त्र” माथि पनि गम्भीर प्रश्न खडा गरेको छ। नव जनप्रहारबाट
प्रकाशित मिति: २०२६-०६-०१ , समय : १६:२८:२७ , 2 hours अगाडि