विराटनगरस्थित होटलमा प्रिन्स यादवको रहस्यमय मृत्यु : पप्पु यादवले भने ‘हत्या भएको हो’

मिति: २०२६-०६-१४ , समय : १९:५४:२५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

विराटनगर।
बिहारको बहुचर्चित ज्ञानबिन्दु जीएस एकेडेमीका सञ्चालक रोशन आनन्दका भाइ प्रिन्स यादवको विराटनगरस्थित एक होटलमा संदिग्ध अवस्थामा मृत्यु भएको छ। घटनाबारे नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको छ भने मृत्युको वास्तविक कारण खुल्न बाँकी रहेको बताइएको छ।

प्रहरीका अनुसार प्रिन्स यादव आफ्ना ४/५ जना साथीसँग विराटनगरको शुभ होटलमा बस्दै आएका थिए। सोही क्रममा शनिबार राति उनको शंकास्पद अवस्थामा मृत्यु भएको बताइएको छ। घटनापछि नेपाल प्रहरीले होटलमा रहेका अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय माेरङगका एसपी कबित कटुवालले बताए ।

यसअघि पटना स्थित चर्चित शिक्षक खान सरको कोचिङ सेन्टरमा भएको तोडफोड तथा आक्रमण घटनामा प्रिन्स यादवविरुद्ध मुद्दा दर्ता भएको थियो। उक्त घटनापछि उनी नेपालमा लुकेर बस्दै आएको बताइएको छ।

पुर्णियाका साँसद पप्पु यादवको प्रतिक्रिया

पूर्णिया क्षेत्रका सांसद पप्पु यादवले प्रिन्स यादवको मृत्युलाई हत्या भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै लेखेका छन्, “ज्ञानबिन्दुका सञ्चालक रोशन आनन्दका भाइ प्रिन्सको नेपालको विराटनगरमा हत्या भएको छ। यो अत्यन्त दुःखद घटना हो। बिहार सरकारले नेपाल प्रशासनसँग समन्वय गरी पीडित परिवारलाई न्याय दिलाउनुपर्छ र दोषीमाथि तत्काल कारबाही हुनुपर्छ।”

वकिलले उठाए ठूलो षड्यन्त्रको आशंका

रोशन आनन्दका कानुनी सल्लाहकार अधिवक्ता निरञ्जन कुमार सिंहले घटनाले परिवारलाई गहिरो आघात पुगेको बताएका छन्। उनका अनुसार एक भाइ जेलमा रहेका बेला अर्को भाइको यस्तो रहस्यमय मृत्यु हुनु अत्यन्त दुःखद र शंकास्पद विषय हो।
उनले घटनाक्रमलाई हेर्दा यसको पछाडि ठूलो गिरोह वा अन्तर्राष्ट्रिय सम्बन्ध समेत हुन सक्ने आशंका व्यक्त गरे। यद्यपि अनुसन्धान जारी रहेकाले अहिले थप टिप्पणी गर्न उचित नहुने उनको बताएको भारतीय संचार माध्यमले जनाएको छ ।

खान सरको कोचिङमा भएको आक्रमण

खान सरको कोचिङ संस्थाको व्यवस्थापन हेर्ने कन्हैया कुमार सिंह ले दर्ता गराएको एफआईआर अनुसार गत जुन २ को राति ज्ञानबिन्दु कोचिङसँग सम्बन्धित व्यक्तिहरूले कोचिङको सुरक्षागार्ड माथि आक्रमण गरेका थिए। एफआईआरमा रोशन आनन्दका भाइ प्रिन्स यादवसहित १५–२० जनाको समूहले गार्डलाई कुटपिट गरी घाइते बनाएको, कोचिङको बोर्ड, ब्यारेकेड तथा खान सरको तस्वीरमा तोडफोड गरेको आरोप लगाइएको छ।

रोशन आनन्द अझै जेलमा

उक्त घटनापछि ज्ञानबिन्दु कोचिङसँग सम्बन्धित केही व्यक्तिहरू पक्राउ परेका थिए। सञ्चालक रोशन आनन्द हाल जेलमा रहेका छन्। उनको जमानत निवेदनमाथि सोमबार सुनुवाइ हुने बताइएको छ। यसैबीच खान सरका दुई सुरक्षागार्ड पनि जेलमै छन्। अदालतले खान सरको गिरफ्तारीमा भने हाललाई रोक लगाएको छ। यता प्रिन्स यादवको नेपालमा भएको शंकास्पद मृत्युले बिहार र नेपाल दुवैतर्फ चासो र सनसनी पैदा गरेको छ। प्रहरीले पोस्टमार्टम रिपोर्ट र अनुसन्धानको निष्कर्षपछि मात्र घटनाबारे थप विवरण सार्वजनिक गर्ने जनाएको छ।
राष्ट्रिय जनता दलका राष्ट्रिय अध्यक्ष एंवम बिहारका पुर्व मुख्यमन्त्री लालु प्रसाद यादव उनका छाेरा पुर्व उप-मुख्यमन्त्री तेजस्वी यादवले घटनालाई हत्या भनेका छन। सरकारसंग प्रिन्स यादवकाे घटनाको सूक्ष्म अनुसंधान गर्न माँग गरेका छन् । सप्तरी जागरणबाट

प्रकाशित मिति: २०२६-०६-१४ , समय : १९:५४:२५ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित