फर्जी किसान खडा गरी साढे ७२ लाख भ्रष्टाचार : कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मिति: २०२६-०७-११ , समय : ०९:३०:३५ , गामघर डेस्क
मिति: २०२६-०७-११ , समय : ०९:३०:३५ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
आयोगले आज कृषि विकास कार्यालय, धनुषाका तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झासमेत ४ जना उपर गैर कानुनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।अख्तियारका अनुसार आर्थिक वर्ष २०७४/७५ मा नेपाल सरकारले कृषि विकास रणनीति अनुगमन तथा समन्वय ‘राहत’ कार्यक्रमअन्तर्गत माछाका भुरा वितरणका लागि जिल्ला कृषि विकास कार्यालय, धनुषालाई २ करोड ३४ लाख २८ हजार रुपैयाँ बजेट उपलब्ध गराएको थियो।केही मात्रामा सरकारी फार्मबाट माछाका भुरा खरिद गरिएको देखिए पनि ठूलो परिमाणमा निजी माछा फार्मबाट खरिद गरेको देखाउन वास्तविक रूपमा माछाका भुरा नपाएका व्यक्तिहरूको नाम, ठेगाना र दस्तखतसहितका भरपाई तथा लेखा अभिलेख तयार पारेर नक्कली बिल तयार गरिएको थियो।
यसरी हुँदै नभएका कृषकको नाममा कागजात तयार गरी तथा वास्तविक रूपमा आपूर्ति नै नभएका माछाका भुराको भुक्तानी गरेर ७२ लाख ५९ हजार ९० रुपैयाँ सरकारी कोषमा हानी–नोक्सानी पुर्याइएको अनुसन्धानबाट पुष्टि भएको छ।
यस प्रकरणमा अख्तियारले तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झा, तत्कालीन लेखापाल रामचन्द्र ठाकुर, तत्कालीन प्राविधिक सहायक देवेन्द्रलाल कर्ण तथा सुदिश माछापालन केन्द्रका सञ्चालक राम सुदिश शरणविरुद्ध मुद्दा चलाएको हो।
आयोगले तीन जना सरकारी कर्मचारीविरुद्ध ७२ लाख ५९ हजार ९० रुपैयाँ बिगो कायम गरी बिगो असुलउपर, सोही बराबर जरिवाना र कैद सजायको माग गरेको छ। माछापालन केन्द्रका सञ्चालक राममाथि भने भ्रष्टाचारजन्य कार्यमा मतियार भई गैरकानुनी लाभ लिएको अभियोगमा मुख्य कसुरदारसरह सजायको माग गरिएको छ।
प्रकाशित मिति: २०२६-०७-११ , समय : ०९:३०:३५ , 2 months अगाडि