सप्तरीको राजविराज कारागारमा व्यापक अनियमितता भएको खुलासा : निष्पक्ष छानबिनको माग
मिति: २०२६-०७-२२ , समय : १२:१२:५३ , बिन्दु कुमार यादव
मिति: २०२६-०७-२२ , समय : १२:१२:५३ , बिन्दु कुमार यादव
फायल तस्बिर
बिन्दु कुमार यादव
राजविराज ।
सप्तरीको राजविराज कारागारमा आर्थिक अनियमितता, चौकीदार नियुक्ति तथा सरुवामा चलखेल भएको आरोप कैदीबन्दीहरूले लगाएका छन्। उनीहरूले सरकारले उपलब्ध गराएको सुविधा वितरणदेखि कारागारभित्रको जिम्मेवारी व्यवस्थापनसम्म विभिन्न अनियमितता भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका हुन्।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.१ निवासी जोगेन्द्र मण्डल (बुधन मण्डल) ले सरकारले गर्मीबाट बच्न कैदीबन्दीलाई प्रति व्यक्ति २ हजार ४ सय ९५ रुपैयाँ उपलब्ध गराएको भए पनि आफूहरूलाई १ हजार २ सय रुपैयाँ मात्र वितरण गरिएको आरोप लगाए। बाँकी रकमबारे कुनै जानकारी नदिइएको र पूरा रकम बुझेको भन्दै हस्ताक्षर गराइएको उनको भनाइ छ।
उनका अनुसार कारागारमा चौकीदार पदमा सीमित अवधिसम्म मात्र रहने व्यवस्था भए पनि कामेश्वर यादव २०७९ सालदेखि लामो समयसम्म सोही जिम्मेवारीमा कार्यरत रहे। पछि उनलाई झुम्का कारागार पठाइए पनि पुनः राजविराज कारागारमा फर्काएर बी–ब्लकबाट ए–ब्लकमा ल्याई चौकीदार बनाइएको दाबी गरिएको छ।
कैदीबन्दीहरूले २०८२ माघ १६ गते रुपक मण्डल जेलरका रूपमा आएपछि चौकीदार नियुक्ति र सरुवामा आर्थिक चलखेल भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार ए–ब्लकका तत्कालीन चौकीदार जाहुरी अन्सारीलाई हटाएर कामेश्वर यादवलाई पुनः चौकीदार बनाइएको हो।
कामेश्वर यादवविरुद्ध विभिन्न निकायमा २५ भन्दा बढी निवेदन परेको र ती निवेदन जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित निकायमा पठाइएको दाबी पनि गरिएको छ। यद्यपि ती निवेदनमाथि के कस्तो कारबाही भयो भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक भएको छैन।
यसैबीच, लागूऔषध (ब्राउन सुगर) मुद्दामा सजाय भोगिरहेका राम रझ्नि यादवलाई समेत चौकीदार बनाउने तयारीका क्रममा ठूलो रकमको चलखेल भएको चर्चा कारागारभित्र रहेको स्रोतले जनाएको छ। यस विषयलाई लिएर जोगेन्द्र (बुधन) मण्डल र एक चौकीदारबीच विवादसमेत भएको दाबी गरिएको छ।
कैदीबन्दीहरूको भनाइअनुसार कारागारभित्र विशेष जिम्मेवारी वा सुविधा प्राप्त गर्न आर्थिक प्रभाव र पहुँचले भूमिका खेल्ने गरेको छ। यस्ता गतिविधिले कारागार प्रशासनको पारदर्शिता, सुशासन र निगरानी संयन्त्रप्रति गम्भीर प्रश्न उठाएको उनीहरूको भनाइ छ।
कारागार ऐन तथा नियमावलीअनुसार विशेष जिम्मेवारी प्रदान गर्दा निश्चित मापदण्ड पालना गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै कैदीबन्दीहरूले सार्वजनिक भएका आरोपहरूको निष्पक्ष, स्वतन्त्र र उच्चस्तरीय छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन्।
राजविराज कारागारमा यो विषयलाई लिएर शनिबार तनाव नै उत्पन्न भएको थियो । चौकीदारको विषयलाई लिएर कैदीवन्दी वीच तनाव उत्पन्न भएका थिए ।
यता सप्तरीको राजबिराज नगरपालिका वडा न.१५ मुसहरनियाँका कैदी धर्नेन्द्र प्रसाद साहले आफूलाई चौकीदार बनाइदिने भनी चौकीदार कामेश्वरर यादवले घुस लिएको आरोप लगाए । विवादले उग्ररूप लिएपछि कारागार परिसरमा तनावपूर्ण भएको थियो । प्रहरीले बल प्रयोग गर्न थालेपछि केही कैदीबन्दीहरुले आत्मादाहाको प्रयास गरेका थिए ।
प्रकाशित मिति: २०२६-०७-२२ , समय : १२:१२:५३ , 4 hours अगाडि