रसुवाको बाढीमा सप्तरीका एकै परिवारका तीन जना अझै बेपत्ता : बुवा सयकडा २० रुपैयाँ ब्याजमा ऋण लिएर खाेज्दै छाेरा

मिति: २०२६-०९-०८ , समय : १९:३२:४५ , निकेश शाह

फायल तस्बिर

निकेश शाह

काठमाडौं । आँखाभरि थकान, अनुहारमा गहिरो चिन्ता र पैतालामा लामो हिँडाइको दुखाइ बोकेर सप्तरीको कंचनरुप-३ बरमझिया स्थीत ५० वर्षीय तोल्का सदा बाढी प्रभावित पहाडी इलाकामा आफ्ना १९ वर्षीय छोरा विनोद सदाको खोजीमा भौँतारिरहेका छन्।
रसुवास्थित एक जलविद्युत् आयोजनामा मजदुरी गर्न गएका छोरा विनोद भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोपछि बेपत्ता भएका छन्। छोरासँगै काम गर्ने अन्य चार जना साथीहरू पनि सम्पर्कविहीन छन्।

सयकडा २० रुपैयाँ ब्याजमा ऋण लिएर खोजी यात्रा
घरमा रुँदारुँदै अर्धमूर्छित बनेकी श्रीमतीको आँसु र आफ्नो छातीको पीडा सम्हाल्दै तोल्का आफ्नो भाइसँगै छोरा खोज्न निस्किएका हुन्। गोजीमा भएको मैलो रुमालमा बाँधिएको दुई हजार रुपैयाँ पनि उनले गाउँमा सयकडा २० रुपैयाँको चर्को ब्याजमा ऋण काढेर जोहो गरेका थिए।
सप्तरीबाट बस चढेर काठमाडौं आइपुगेका उनीहरूले त्यहाँका अस्पताल र शवगृहहरू चहारे। शवगृह बाहिर टाँसिएका चिन्नै नसकिने तस्बिरहरूमा छोराको कुनै पत्तो नलागेपछि उनीहरू काठमाडौंबाट करिब ६० किलोमिटर हिँडेर नुवाकोटको त्रिशूलीसम्म पुगेका छन्।

“राति बास बसेको लजले १५ सय रुपैयाँ लियो, पेटभरि खान पनि पाइएन। अब बाँकी पैसा पनि सकिन लाग्यो, घर फर्किने भाडासम्म छैन,” तोल्काले गहभरि आँसु पार्दै भने।
विभेद र उपेक्षाको पीडा मधेसको सीमान्तकृत मुसहर समुदायका तोल्का र उनका भाइले उद्धार शिविर र शवगृहहरूमा पुगेर छोराको अवस्था बुझ्न खोज्दा सहयोग पाउनुको साटो दुत्कारिएको गुनासो गरेका छन्।

“हामी गरिब छौँ, भाषा राम्रोसँग बोल्न आउँदैन भनेर हामीलाई यता उति धपाइन्छ,” तोल्का भन्छन्, “लास नै भए पनि हेर्न पाउने हाम्रो अधिकार हो। हामीले प्रहरी र सेनाको क्याम्पमा नाम लेखाएका छौँ, तर कसैले वास्ता गर्दैनन्।”

आशा र निराशाको दोसाँध दिनहुँ सयौँ पटक छोराको नम्बर डायल गर्दा पनि फोन लाग्दैन। एक मनले छोरा जवान र फुर्तिलो भएकाले कतै भागेर ज्यान बचाएको होला कि भन्ने आशा पलाउँछ भने अर्को मनले जीवित भए कतैबाट फोन गरिहाल्थ्यो नि भन्ने निराशा जगाउँछ।
पैसा सकिँदै गए पनि र शरीर गल्दै गए पनि छोरालाई भेट्ने आशा नमरेको भन्दै उनीहरू जलविद्युत् आयोजनास्थलतर्फको कठिन पैदल यात्रा जारी राख्दैछन्।

प्रकाशित मिति: २०२६-०९-०८ , समय : १९:३२:४५ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित