सप्तरीमा घरमा भण्डारण गरी गाँजा खरिद-बिक्री गरेको अाराेपमा एक जना पक्राउ

मिति: २०२३-०६-२१ , समय : ००:१२:२६ , गामघर डेस्क

तस्बिर : इकान्तिपुरबाट

गामघर डेस्क

राजविराज । सप्तरीको कंचनरुप नगरपालिका वडा नम्बर ७ बलुवा टोलका उमेश साहले आफ्नो घरमा भण्डारण गरी अवैध गाँजाको बिक्री वितरण गर्ने गरेको खुलेको छ ।

विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय कंचनपुरबाट गएको टोलीले सोमबार राति साहको घरबाट १६ किलो ९ सय ३० ग्राम गाँजा नियन्त्रणमा लिएपछि उक्त तथ्य खुलेको हो । साहको दुईतले घरको माथिल्लो कोठामा जस्ताको बाक्सभित्र कालो प्लास्टिकको पोकामा प्याक गरिएको अवस्थामा १६ किलो ९ सय ३० ग्राम गाँजा नियन्त्रणमा लिइएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
सो स्थानबाट प्रहरीले स–साना फलामका ढकहरु समेत बरामद गरेको जनाएको छ । सानो तौलका ढकहरु बरामद भएका कारण घरबाटै गाँजा बिक्री वितरण गर्ने गरेको प्रहरीको ठम्याई छ । प्रहरीले घरधनी उमेश साहलाई नियन्त्रणमा लिएको छ ।

पहाडी जिल्लाबाट सप्तरी हुँदै भारततर्फ गाँजा तस्करी हुँदै आएको छ । जिल्लाका ग्रामीण क्षेत्रहरुमा समेत गाँजाको खुद्रा बिक्री समेत हुँदै आएको छ । पछिल्लो पटक घरबाटै गाँजाको बिक्री वितरण भइरहेको सूचनापछि प्रहरी साहको घरमा खानतलासी गरेपछि उक्त गाँजा फेला परेको हो ।

यता प्रहरीले पक्राउ गरिएका साहबाट सोधपुछ गरिरहेको जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इकान्तिपुरबाट

प्रकाशित मिति: २०२३-०६-२१ , समय : ००:१२:२६ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित