हत्या अभियाेगमा सप्तरीका प्रदेश सभासदस्य यादव पुर्वपक्षको लागी कारागार चलान

मिति: २०२३-०९-०५ , समय : १९:१६:२३ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज ।
१६ वर्षअघिको हत्या अभियोगमा सप्तरीबाट निर्वाचित प्रदेश सांसद अनिरुद्र प्रसाद सिंह यादव पुर्पक्षका लागि थुनामा गएका छन्। सप्तरी जिल्ला अदालतले उहाँलाई थुनामा पठाउने आदेश दिएको हो ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलाशमा मंगलबार भएको थुनछेकपछि यादवलाई थुनामा राखेर पुर्पक्ष गर्ने आदेश भएको अदालत प्रशासनले जनाएको छ। आज मगलवार भएको थुनछेक आदेशले यादव प्रतिवादिलाई मुलुकि फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम मुद्दा पुर्पक्षको लागि थुनामा राख्न पठाउनु भन्ने आदेश भएको हुँदा मगलवारै यादव प्रतिवादिलाई सप्तरी कारागार कार्यालय राजविराजमा पठाईएको छ ।
१६ वर्षदेखि मुल्तवीमा रहेको मुद्दामा प्रहरीले सोमवार राजविराज ७ वाट यादवलाई पक्राउ गरेको थियो। विगतमा जनता समाजवादी पार्टीमा रहेका यादव गत प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४(२) बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए ।
राजनीतिक पहुँचका आधारमा प्रहरी र कानुनी ब्यवस्थालाई चुनौती दिदै हिडेका उनी १६ वर्षदेखि फरार सुचीमा रहेकै वेला ०७९ मंसिर ४ गते भएको निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन।
जिल्ला प्रहरी कार्यालयको रकेर्डमा उनी ०६४ असार १४ गतेदेखि नै फरारको सूचिमा थिए। सरकारी वकिल कार्यालयले सप्तरी जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा ०६४ असार ९ गते तत्कालिन खोक्सरप्रवाह– १ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्यामा यादवको पनि संलग्नता छ। उहाँकै निर्देशनमा जगदिश प्रसाद भगत, क्रान्ति भन्ने दिनेश यादव, इसा मिया, बिरेन्द्र यादव, शिखर भन्ने श्याम यादवले चौधरीलाई अपहरण गरेको र क्रान्ती भन्ने दिनेश यादव र कान्तिपुर एफएम भन्ने जगदिश प्रसाद भगतले गोली हानेर हत्या गरेको अभियोग पत्रमा उल्लेख छ।
तत्कालिन बोदेबर्साईन गाविस– ४ बाट अपहरण गरी नेङ्गडा गाविस–५ वैरिया टोलमा पु¥याएर चौधरीलाई गोली हानेर हत्या गरेको अभियोगपत्रमा उल्लेख छ। कान्तिपुर एफएम भन्ने जगदिश प्रसाद भगत कटुवा पेस्तोल र गोली सहित सोही दिन पक्राउ परेका थिए।
मृतककी दिदी धनगढी गाविसकी ३६ वर्षीया रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा ०६४ असार १४ गते यादवसमेत नौ जनाको नाम उल्लेख गरेर किटानी जाहेरी दिएकी थिईन। उनी सोही दिनदेखि कानुनको नजरमा फरार आरोपी हुन।
प्रहरीले अदालतमा मुद्दा दर्ता गरेपछि बयान दिनसमेत नगएका यादव कुनै पनि अदालती प्रकृयामा नै सहभागि भएका थिएनन्।

प्रकाशित मिति: २०२३-०९-०५ , समय : १९:१६:२३ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित